0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा भाषा साहित्य, कला (सङ्गीत नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवद्र्धन र अन्यक्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरू मध्ये ९ जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरिएको छ ।
महानगरपालिकामा कार्यरत कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीहरू, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।
यस्तै कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको छ ।
कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा, एसइई तर्फ ४९ तथा सामुदायिक र संस्थागत विद्यालय तर्फ सबैभन्दा बढी जिपिए प्राप्त गर्ने १ १ विद्यालयहरूलाई पनि सम्मान गरिएको छ ।
महानगरपालिकाका ३३ वटै वडाहरू मध्येबाट सरसफाइमा उत्कृष्ट वडाहरू, महानगर मातहतका कार्यलयहरु मध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजश्व तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिएको छ ।
उमेरको ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान, स्थापना दिवसका अवसरमा किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि क्विच कार्यक्रम, जीवनदान रक्तदान, रक्तदान जीवन भन्ने नाराका साथ रक्तदान कार्यक्रम, पोखराको चिनारी/पहिचानका रूपमा स्थापित लोकबाजा सारङ्गी प्रवद्र्धनका लागि सारङ्गी पार्क शिलान्यास लगायत विशेष कार्यक्रमहरु सहित स्थापना दिवस मनाइएको हो ।
मुल समारोहको पूर्वसन्ध्यामा मानवअधिकारचोक चिप्लेढुंगादेखि सभागृहसम्म सांस्कृतिक झाँकी र्याली समेत गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.