माघ ०३, २०८२, शुक्रबार

चन्द्रावती वाग्लेको ‘कहरको त्यो समय’ लोकार्पण


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । साहित्यकार एवं गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ लोकार्पण गरिएको छ ।

गीताञ्जली साहित्य परिवार पोखरा र नारी वाङ्मय प्रतिष्ठान पोखराले संयुक्त रुपमा पोखरा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार माधव वियोगी, गीताञ्जली साहित्य परिवारका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितिज’, प्राडा कुसुमाकर न्यौपानेलगायतले कृतिको लोकार्पण गरेका हुन् ।

प्राडा कुसुमकर न्यौपानेले ‘कोभिड १९’ कोरोना कहरको विषयवस्तु समेटेर रचिएको कविता संग्रह ‘कहरको त्यो समय’ का विविध पक्षबारे चर्चा गरे ।

वरिष्ठ साहित्यकार माधव वियोगीले कविताले समाजको यथार्थलाई निर्भीक रूपमा उजागर गर्ने भएकाले साहित्य सामाजिक चेतनाको दर्पण भएको उल्लेख गरे।

संग्रहमा समेटिएका रचनाले कठिन समयका अनुभूति, आशा र प्रतिरोधलाई कलात्मक ढंगले प्रस्तुत गरेको भन्दै उनले यस कृतिले नेपाली कविता साहित्यलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे। साथै, नयाँ पुस्तालाई निरन्तर अध्ययन र सिर्जनामा लागिरहन उनले आग्रह गरे।

स्रष्टा वाग्लेले कविता संग्रह ‘कहरको त्यो समय’ आफ्ना अनुभूति, भोगाइ र समयले दिएको घाउको अभिलेख भएको बताइन्।

उनले कठिन परिस्थितिमा देखिएका पीडा, अन्याय र मानवीय संवेदनालाई शब्दमा उतार्ने प्रयास गरेको उल्लेख गरिन् । कवितामार्फत मौन पीडालाई आवाज दिनु नै आफ्नो उद्देश्य भएको भन्दै वाग्लेले समाजप्रतिको उत्तरदायित्वबोध र परिवर्तनको चाहनाले यो कृति सिर्जना भएको स्पष्ट पारिन्। पाठकले संग्रहभित्र आफ्नो समय र आफ्नै अनुभूति भेट्ने विश्वास पनि उनले व्यक्त गरिन्।

कार्यक्रममा अग्रज साहित्यकार छविलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्ड़ीराज ज्ञवालीलगायतले रचना वाचन गर्नुुका साथै वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

गीताञ्जली साहित्य परिवारका पूर्वअध्यक्ष शिवप्रसाद गौतमले स्वागत, नारी वाङ्मय प्रतिष्ठानका सचिव लक्ष्मी थापाले सञ्चालन र स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सिनाले गरेका थिए ।

दर्जनौँ कृति बजारमा ल्याइसकेकी वाग्ले विभिन्न साहित्यिक र सामाजिक संघ-संस्थाबाट सम्मानित बनिसकेकी छन् ।

उनका कृतिमा समाजका विविधता र वास्तविकता जीवन्त चित्रण गरिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.