0
प्रतिक्रिया
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोविता गौतमले रास्वपा र सरकारबीच आगामी निर्वाचनका सवाल र चासोका विषयमा छलफल भएको बताएकी छन् ।
आइतबार साँझ रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू र प्रधानमन्त्री सुशीला कार्की तथा केही मन्त्रीबीच करिब दुई घण्टा भएको छलफलपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै नेता गौतमले यस्तो बताएकी हुन् ।
नेता गौतमका अनुसार चुनावी उमेर हद र ‘जेन-जी’ का माग संवोधनका विषय छलफल भयो । सो क्रममा संघीय निर्वाचनमा उम्मेद्वारी दिने उमेर हद घटाउनुपर्ने माग रास्वपाले अघि सारेको छ।
हालको २५ वर्षको उमेर हदलाई घटाएर २१ वा १८ वर्षमै चुनाव लड्न पाउने व्यवस्था गर्नुपर्नेमा रास्वपाले जोड दिएको छ।
साथै ‘जेन-जी’ आन्दोलनका क्रममा भएका सम्झौता कार्यान्वयन र युवाहरूलाई राजनीतिको मूलधारमा ल्याउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको गौतमले बताइन् ।
भेटमा सभापति लामिछानेमाथि लगाइएका मुद्दा र विगतको सरकारले गरेको ‘राजनीतिक प्रतिशोध’ बारे पनि छलफल भएको छ।
नेता गौतमले अदालती प्रक्रियामा हस्तक्षेप नगर्ने तर विगतको सरकारले बदनीयतपूर्वक गरेको शक्तिको दुरुपयोगलाई वर्तमान सरकारले सच्याउनुपर्नेमा जोड दिइएको बताइन् ।
उनले हिजोको ‘अधिक अभियोजन’ आफैँमा भ्रष्टाचार भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको बताइन् ।
निर्वाचनको सुनिश्चितता रास्वपा टोलीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने र सरकारको प्रमुख कार्यभार नै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री र लामिछानेबीच सुरुमा भएको ‘वान-टू-वान’ भेटलाई भने नेताहरूले लामो समयपछिको व्यक्तिगत र औपचारिक शिष्टाचार भेटका रूपमा अथ्र्याएका छन्।
सभापति लामिछानेले हिरासतबाट मुक्त भएको भोलिपल्टै आइतबार साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
सो भेटमा उपसभापित डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल, सोविता गौतमलगायत सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.