0
प्रतिक्रिया
पोखरा । पोखरा महानगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप प्रतियोगिता बुधवारदेखि सुरु भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नगर क्षेत्रमा सञ्चालनमा रहेका २ सय ६० विद्यालय मध्ये १ सय ८० भन्दा बढी विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ वटा विधामा प्रतिस्पर्धा हुनेछ। जस अनुसार भलिबलमा छात्र तर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी छन् । कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी छन् ।
एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिस्पर्धा गर्ने छन् । कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिस्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाएका छन् । उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिस्पर्धा गर्नेछन् । मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी भएका छन् ।
भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र पाउनेछन् । एथलेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्नेछन्।
यसै गरी मार्चपासमा प्रथम टिमलाई २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष दीपक गोदारले बताए।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले खेलकुदले राष्ट्रिय एकता र सद्भावको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
खेलाडीहरूमा खेल कौशलको विकास, अनुशासन र स्वास्थ्य सुरक्षामा खेलकुद अपरिहार्य रहेको उनले बताए । पोखरा महानगरपालिका समग्र खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताए।
उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीहरूको हौसला बढाउँदै उनीहरूमा अनुशासन र खेल भावनाको विकासका लागि यस्ता प्रकारका प्रतियोगिताहरू आवश्यक हुने बताइन् । सामाजिक भावना र आत्मविश्वास अभिवृद्धिमा पनि खेलले महत्त्वपूर्ण योगदान गर्ने उनले बताइन् ।
शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले खेलकुदलाई आफ्नो जीवनको मुलआधारका रूपमा उभ्याउनका लागि विद्यालय तहबाट नै लाग्नु पर्ने बताए। अनुशासन र लगनशीलताले मात्रै खेल जीवनमा सफलता प्राप्त हुने भएकाले यसको निरन्तरतामा उनले जोड दिए।
महानगरपालिका शिक्षासँगै खेलकुदको विकासका लागि विद्यालय तहमा यस प्रकार कार्यक्रमहरू निरन्तर सञ्चालनका लागि प्रतिबद्ध रहेको उनले बताए।
Copyright © 2024 | All rights reserved.