0
प्रतिक्रिया
पोखरा । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विश्व तिवारीले मुद्रणले उद्योग सरहको मान्यता पाउनुपर्नेमा जोड दिएका छन् ।
राज्यले अझैसम्म मुद्रणलाई उद्योगको मान्यता नदिएको दुःखेसो गर्दै उनले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको पोखरामा भएको सातौँ वार्षिक साधारणभा उद्घाटन गर्दै उनले यही मुद्धा लिएर वर्षौँदेखि लडिरहेको बताए ।
उनले अब पनि राज्यले आफूहरुको मागमा बेवास्ता गरिरहे कडा कदम चाल्ने चेतावनीसमेत दिए ।
राज्य आँफैले छापाखाना चलाएर बस्दा त्यसको सोझो असर निजी क्षेत्रमा परेको भन्दै उनले निजी क्षेत्र सशक्त भइसकेको अवस्थामा राज्य निजी क्षेत्रसँग पैँठेजोरी गरेर बस्न नहुने स्पष्ट पारे ।
एउटाको मुखको चारो खोसेर अर्को अघाउने खालको व्यवसाय मुद्रण व्यवसाय भएको भन्दै उनले यस क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा हुन आवश्यक रहेको बताए ।
महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष वसन्त बास्तोलाले समग्र व्यवसायीहरू आआफ्ना व्यवसायलाई चलायमान बनाउँदै फेलोसिप, लिडरसिप र सर्भिसलाई पनि ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।
महासंघका गण्डकीका संस्थापक अध्यक्ष महेन्द्र बजिमयले व्यवसायिक रुपमा स्वच्छ प्रतिस्पर्धा गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।
महासंघ गण्डकीका अध्यक्ष मनोहर दाहालले छरिएर भन्दा एकत्रित भई व्यवसाय सञ्चालन गर्दा निकै राम्रो हुने धारणा राखे ।
उनले व्यवसायी बीचको एकता नै समृद्धिको मुख्य आधार भएको स्पष्ट पारे ।
Copyright © 2024 | All rights reserved.