माघ ०३, २०८२, शुक्रबार

बालेन रास्वपामा समाहित: रवि सभापति, बालेन भावी प्रधानमन्त्री


Advertisement Image
clock icon 2 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनबीच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ।

आइतबार बिहान भएको सात बुँदे समझदारी अनुसार अब राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन साहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने भएको छ।

गत हप्ता सोमबारदेखि दुवै नेताबीच चलेको निरन्तरको संवाद र रातभरको घनिभूत छलफलपछि आज बिहान यो सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार एकीकृत दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने साविककै निलो पृष्ठभूमिको झण्डा र ‘घण्टी’ चुनाव चिन्हलाई निरन्तरता दिइनेछ।

यस एकताले नवयुवाहरुले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

साथै, आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रलाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ।

बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता र सार्वजनिक छविको आधारमा जिम्मेवारी दिइने सहमति भएको छ।

यो सम्झौता बमोजिमका दस्तावेजहरू अब निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। रास्वपा र बालेन साहको यो सहकार्यले लोकतान्त्रिक सुशासन र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी र वैकल्पिक राजनीतिक शक्तिहरूलाई समेत आह्वान गरेको छ।

लामो समयदेखि छुट्टाछुट्टै हिँडिरहेका वैकल्पिक शक्तिहरू एउटै चिह्न (घण्टी) मा गोलबद्ध हुनुले आगामी निर्वाचनमा परम्परागत राजनीतिक दलहरू (कांग्रेस, एमाले, माओवादी) लाई ठूलो चुनौती दिने देखिन्छ। यसले छरिएर रहेका स्वतन्त्र मतहरूलाई एकै ठाउँमा केन्द्रित गर्नेछ।

भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनको अपनत्व लिने सहमतिको पहिलो बुँदाले युवा पुस्तालाई ठुलो ऊर्जा दिनेछ।

बालेन साहको कार्यशैली र रवि लामिछानेको वाककलाको समिश्रणले युवा मतदाताको ठूलो हिस्सा यसैतर्फ आकर्षित हुने सम्भावना छ।

नेपाललाई १० वर्षभित्र मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रले पार्टीलाई केवल ‘विरोध गर्ने शक्ति’ मात्र नभई ‘स्पष्ट भिजन भएको शक्ति’ को रूपमा स्थापित गर्न खोजेको देखिन्छ। यसले मध्यमवर्गीय र बौद्धिक वर्गमा पनि सकारात्मक सन्देश दिनेछ।

बालेन साहको टोली र रास्वपाको देशभर रहेको सङ्गठन एकाकार हुँदा स्थानीय तहदेखि केन्द्रसम्मै पार्टीको प्रभाव फराकिलो हुनेछ।

विज्ञ र युवा अभियन्ताहरूलाई योग्यताका आधारमा जिम्मेवारी दिने बुँदाले पार्टीमा ‘मेरिटोक्रेसी’ (योग्यताप्रणाली) हाबी हुने सङ्केत गर्छ।

यो सहमति जति उत्साहजनक छ, त्यति नै चुनौतीपूर्ण पनि छ। दुई फरक कार्यशैली भएका शक्तिशाली व्यक्तित्वहरूबीचको ‘इगो’ व्यवस्थापन र कार्यगत एकतालाई चुनावी परिणामसम्म लैजानु उनीहरूका लागि मुख्य परीक्षा हुनेछ।

साथै, कुलमान घिसिङ जस्ता अन्य ‘वैकल्पिक’ अनुहारहरूलाई यसै अभियानमा कसरी समायोजन गरिन्छ भन्ने कुराले पनि यसको सफलता तय गर्नेछ। यो सहमतिले नेपाली राजनीतिमा ‘परिवर्तन सम्भव छ’ भन्ने नयाँ आशा सञ्चार गरेको छ।

हमति भएका सात बुँदा

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिकऔसामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।

Copyright © 2024 | All rights reserved.