0
प्रतिक्रिया
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, उज्यालो नेपाल पार्टी उनेपा र काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनबीच एकता सम्बन्धी त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार राति उनीहरुबीच भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ रहने छन् । यस्तै अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ ।
रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको समझदारी पत्रमा बालेनले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् ।
सहमतिमा एकतापछि साविक रास्वपाकै नाम र चुनाव चिन्ह रहने उल्लेख छ । यस्तै रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने पनि सहमतिपत्रअनुसार उल्लेख छ ।
सहमतिपत्रअनुसार दुवै पार्टीले नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र समतामूलक शासन स्थापित गर्न आवश्यक भएको स्वीकार गर्दै नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद एवं घाइतेको बलिदानलाई प्रेरणास्रोतको रूपमा लिइएको छ । नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्म आत्मसात् गर्दै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाइएको छ ।
सहमतिपत्रमा भनिएको छ, “उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणालीको स्थापना, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनागत सुधारमार्फत आर्थिक, सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।”
उज्यालो नेपाल पार्टीका अभियान र युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई एकतापछि पार्टी संरचनामा समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाउने पनि उल्लेख गरिएको छ ।
यसअघि बालेन र रविबीच सहमति भएको थियो । सो सहमति अनुसार बालेन रास्वपामा गएका थिए । उनले रविको विगत बोक्दै रास्वपाको चुनाव चिन्हबाट चुनाव लड्ने र संसदीय दलको नेता हुने तथा मौका मिले प्रधानमन्त्रीका लागि रास्वपाले अगाडि सार्ने सहमति भएको थियो ।
अब कुलमानले पनि रविको विगत बोक्दै रास्वपामा मिसिएर उपसभापतिको पद खाने भएका हुन् । सहमतिपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले – ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भनेका छन् ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकता भएपछि अब पुरानाहरुको विरूद्द उठेको आवाज करिब एक ठाउँमा संगठित भएको छ । यसअघि नै विवेकशील साझा पार्टी रास्वपामा मिलिसकेको थियो ।
जेन-जी आन्दोलनका केही अगुवाहरू पनि रास्वपामा प्रवेश गरिसकेका थिए । जेन-जी आन्दोलनमा संलग्नहरूको समेत राजनीतिक, नैतिक र भौतिक समर्थन तीनवटा संगठित समूहमा केन्द्रित देखिएको थियो । त्यसैले चुनावका लागि यी तीन शक्तिहरू मिल्नुपर्ने दबाब जेनजी आन्दोलनकारीहरूले पनि दिँदै आएका थिए ।
पुराना पार्टीहरूको बर्चस्व तोड्नका लागि छुट्टाछुट्टै चुनावमा भाग लिँदा सम्भव नहुने निष्कर्ष निकाल्दै यी तीन शक्तिहरू एक ठाउँमा आएका हुन् । यद्यपि जेनजी आन्दोलनपछि वैकल्पिक शक्तिको नाममा अन्य राजनीतिक दलहरू पनि खुलेका छन् ।
यी तीन शक्तिबीचको एकतामा दलभित्रको संरचनामा पदीय भागबन्डाका कुरा पनि मिसिएका छन् । सभापतिमा रवि लामिछाने रहने छन् । बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् । कुलमान घिसिङ चाहिँ पार्टीका सभापति पछिको पहिलो दर्जाको उपसभापति रहनेछन् । समानुपातिक सूचिमा १८ जना उज्यालो नेपाल पार्टीका तर्फबाट र बालेनका तर्फबाट ४० जना रहने भद्र सहमति छ ।
Copyright © 2024 | All rights reserved.