0
प्रतिक्रिया
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वीसंवतको नयाँ वर्ष सन् २०२६ शुरू भएको छ ।
येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।
ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएकोसमेत भन्ने गरेका छन् ।
सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै शुरू भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउन्छ ।
३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन ।
त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।
इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन सकेको छैन ।
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।
पोखरामा स्वागत
यता, पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आतिसबाजीसहित नयाँ वर्ष २०२६ लाई स्वागत गरिएको हो ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरिएको हो ।
आतिशबाजी गर्दा त्यहाँ उपस्थित हजारौं दर्शक सहभागी हुँदै रमाए । जब आयोजकले सांगीतिक कार्यक्रम भइरहेको स्थानमा ‘हृयाप्पी न्यू ईअर’ भन्दै आतिशबाजी गरे तब दर्शकको ताली र हुटिङले लेकसाइड गुञ्जयमान भयो ।
नयाँ वर्षको स्वागतार्थ हजारौं दर्शक बुधबार राति लेकसाइड पुगे । विशेष गरेर युवायुवतीको बाक्लो सहभागिता थियो । अन्य समयमा बाहृय पर्यटकको चहलपहल बढी हुने लेकसाइडमा बुधबार नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकको संख्या हृवात्तै बढ्यो ।
लेकसाईडको करीब तीन किलोमिटर सडकमा आयोजित ‘पोखरा सडक महोत्सव’मा विहानदेखि मध्यरातसम्मै दर्शकको चाप थियो ।
Copyright © 2024 | All rights reserved.