माघ ०३, २०८२, शुक्रबार

सबै राजनीतिक दल, सरोकारवाला र जेनजीहरू एकैठाउँमा उभिएर साझा समझदारी गर्नुपर्छः महामन्त्री थापा


Advertisement Image
clock icon 1 week, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै राजनीतिक दल, सरोकारवाला निकाय र जेन-जीहरू एकै ठाउँमा उभिएर साझा समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार साँझ एउटा भिडियो सार्वजनिक गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले जेन-जी आन्दोलनको मूल मर्म सुशासनको प्रवद्र्धन रहेको भन्दै जेन-जी आन्दोलनको मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन र त्यसपछि बन्ने सरकारले मात्र सम्भव गर्न नसक्ने जिकिर गरे ।

जेन-जी आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरू ब्युँताएको उल्लेख गर्दै उनले भने, ‘जेन-जी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन थियो। त्यो मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन वा बन्ने सरकार मात्रले सम्भव हुँदैन ।’

निर्वाचनपछि बन्ने संसद्ले के-कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा अहिले नै न्यूनतम् समझ्दारी आवश्यक रहेको उनले बताए ।

थापाले भ्रष्टाचार, नातावाद, कृपावाद र राजनीतिक दलहरूको अत्यधिक हस्तक्षेपका कारण राज्यका संस्थाहरू कमजोर बन्दै गएको भन्दै सुशासन खस्किँदा जनआक्रोश बढाएको दावी गरे ।

उनले समानुपातिक प्रतिनिधित्व प्रणालीको राजनीतिक दलहरूले दुरुपयोग गरेको आरोपसमेत लगाए ।

एकपटक सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई पुनः समानुपातिक सूचीमा राख्न नपाउने संवैधानिक व्यवस्था आवश्यक रहेको उनले औँल्याए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकाय प्रभावकारी हुन नसक्नुको कारण राजनीतिक भागबन्डामा हुने नियुक्ति प्रक्रिया रहेको भन्दै उनले गम्भीर काण्डहरूमा छानबिन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।

Copyright © 2024 | All rights reserved.