माघ ०३, २०८२, शुक्रबार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै


Advertisement Image
clock icon 1 week, 3 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।

कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी गरेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

महामन्त्रीद्वयले विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

गत शुक्रबार भने माहोल फरक भयो । कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन लत्याएन मात्र कि नियमित महाधिवेशन पनि बैशाखमा सार्यो । त्यसपछि फरक फरक विचार आए ।

महामन्त्री थापाले दुई तीन दिन कुर्ने भनेको आजको बैठककै लागि हो । आजको बैठकपछि महामन्त्रीद्धयले निर्णय सार्वजनिक गर्नेछन् । उनीहरू विशेष महाधिवेशन गरी नयाँ म्यान्डेटसहित आगामी निर्वाचनमा जानुपर्ने अडानमा छन् । त्यसो गरेमात्र पार्टी स्थायित्वमा रहने उनीहरूको दाबी छ  ।

नेतृत्व भने यसमा तयार छैन । नेतृत्व मतदाताले कांग्रेसलाई बिना एजेन्डा र बिना नेतृत्व परिवर्तन नै विश्वास गर्ने दाबी गर्छ ।

आइतबार बसेको नेतृत्व निकटका नेताहरूको बैठकले विशेष महाधिवेशनलाई औ‍चित्यहीन भनिसकेको छ । नेता कृष्णप्रसाद सिटौलाले अब चुनावको तयारी गर्ने बेलामा विशेष महाधिवेशनको औचित्य नभएको दाबी गरेका हुन् ।

Copyright © 2024 | All rights reserved.