माघ ०३, २०८२, शुक्रबार

निर्वाचन आयोगद्वारा नामावली वितरणको नयाँ कार्यविधि सार्वजनिक


Advertisement Image
clock icon 6 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेद्वार र मतदाताहरूको प्रयोजनका लागि निश्चित शुल्क तिरेर मतदाता नामावलीको विवरण प्राप्त गर्न सकिने कानूनी व्यवस्था गरेको छ।

आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार निर्वाचनमा दर्ता भएका राजनीतिक दलहरूले देशभरका मतदाताको नामावली प्राप्त गर्न १० हजार शुल्क बुझाउनुपर्नेछ।

यस्तो विवरण दलको औपचारिक पत्रका आधारमा विद्युतीय माध्यम अर्थात् हार्डड्राइभ वा पेनड्राइभमा उपलब्ध गराइनेछ।

मतदाताको गोपनीयतालाई मध्यनजर गर्दै यस्तो विवरणमा जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर भने समावेश गरिने छैन।

प्रादेशिक तहमा विवरण आवश्यक पर्ने दल वा उम्मेद्वारका लागि रु पाँच हजार शुल्क तोकिएको छ भने जिल्लाभरको वा कुनै एक निर्वाचन क्षेत्रको मात्र विवरण चाहिएमा रु तीन हजार दस्तुर लाग्नेछ।

स्वतन्त्र उम्मेद्वारको हकमा निजको निवेदनका आधारमा सोही बमोजिमको दस्तुर लिई जन्ममिति, नागरिकता र मोबाइल नम्बर बाहेकको विद्युतीय विवरण उपलब्ध गराइनेछ।

साथै, कुनै व्यक्तिगत मतदाताले आफ्नो मात्र विवरणको प्रतिलिपि लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार शुल्क लिई सम्बन्धित व्यक्तिको मात्र विवरण आउने गरी प्रतिलिपि प्रदान गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

मतदाता नामावलीको सुरक्षा र पारदर्शिताका लागि निर्वाचन अधिकृतले कुनै पनि मतदाता, दलका प्रतिनिधि वा उम्मेद्वारलाई आफ्नै खर्चमा नामावली सार्न वा हेर्न दिनुपर्नेछ, तर यसो गर्दा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न पाइने छैन।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाता स्वयंले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको नामावली सर्वसाधारण जोसुकैले पनि हेर्न सक्ने गरी आयोगले व्यवस्था मिलाएको छ।

यस प्रक्रियाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूलाई आफ्नो क्षेत्रका मतदाता पहिचान गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

Copyright © 2024 | All rights reserved.