माघ ०३, २०८२, शुक्रबार

कांग्रेस विशेष महाधिवेशन: शनिबारसम्म काठमाडौँ आइपुग्न प्रतिनिधिलाई आग्रह


Advertisement Image
clock icon 6 days, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

पुस २७ र २८ गते भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनका लागि जिल्ला-जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।

आयोजक समूहले प्रतिनिधिहरूको सुविधा सुनिश्चित गर्न काठमाडौंका विभिन्न होटेलमा एक हजार पाँच सय कोठा छुट्टाइएको बताएको छ । एयरपोर्टदेखि ठमेलसम्मका विभिन्न होटलका कोठा बुक गरिएको हो ।

आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले महिला, ज्येष्ठ नागरिक र अपांगता भएका प्रतिनिधिहरूका लागि विशेष व्यवस्थासहित कोठाहरू बुक गरिएको बताए ।

काठमाडौँमा घर भएका वा आफन्तको घरमा बस्ने प्रतिनिधिहरूलाई सो अनुसार व्यवस्थापन गर्न अनुरोध गरिएकोसमेत उनले जानकारी दिए ।

सबैलाई शनिबारसम्म काठमाडौँमा आइपुग्न भनिएको छ । कांग्रेसलाई पुनःजागरण गर्नका लागि पनि विशेष महाधिवेशनले भूमिका खेल्ने भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका हुन् ।

पार्टीको विधानअनुसार महाधिवेशन बोलाएका उनीहरूको कार्यक्रम असफल बनाउन बहिर्गमन नजिक पुगेका सभापति शेरबहादुर देउवाले आफू निकटको नेतृत्वमा रहेका संघ संगठनका नेतृत्वलाई उचालिरहेका छन् ।

विधानअनुसार कांग्रेसको विशेष महाधिवेशन पुस २९ भित्र भइसक्नुपर्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।

Copyright © 2024 | All rights reserved.