माघ ०३, २०८२, शुक्रबार

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्माले पेस गरे प्रतिवेदन


Advertisement Image
clock icon 3 days, 10 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले साङ्गठनिक प्रतिवेदन पेस गर्दै मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाको निर्मम समीक्षा गरेका छन्।

सोमबार भृकुटीमण्डपमा आयोजित बन्दसत्रमा उनले बितेका ३४ वर्षमा ३० पटक सरकार परिवर्तन हुनुलाई नेतृत्वको असफलता, चरम अस्थिरता र लज्जास्पद तथ्याङ्कको रूपमा टिप्पणी गरे।

प्रत्येक पटक सरकार बदलिँदा नागरिकमा आशा पलाए पनि निरन्तरको अस्थिरताले अन्ततः देशलाई निराशातर्फ धकेलेको उनको ठहर छ।

महामन्त्री शर्माले आर्थिक वृद्धिदर कमजोर रहेको र बढ्दो बजार मूल्यका कारण रोजगारीमा रहेका युवाहरूले समेत जीवन धान्न नसकेको चुनौतीपूर्ण यथार्थ प्रस्तुत गरे।

उनले भ्रष्टाचारका शृङ्खलाबद्ध प्रकरणहरूले नागरिकमा आक्रोश बढाएको र सुशासनको अभावमा विगतमा भएका प्रगतिहरू समेत ओझेलमा परेको उल्लेख गरे।

नीतिगत स्थिरताको अभाव र राजनीतिक लाभका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण देशले विकासको अपेक्षित गति लिन नसकेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा बोल्दै शर्माले प्रदेश सरकारहरूलाई अधिकार हस्तान्तरण गर्न भएको ढिलाइले मुख्यमन्त्रीहरू नै सिंहदरबारसँग असन्तुष्ट रहेको र नागरिक खुसी छन् भन्ने भ्रममा केन्द्र रहन नहुने बताए।

किसानले समयमा मल नपाउने, उखु किसानले भुक्तानीका लागि काठमाडौँ धाउनुपर्ने र श्रमिकले न्यूनतम ज्यालाका लागि दबाब दिनुपर्ने वर्तमान अवस्थामा राज्यको प्रशंसा हुन नसक्ने उनले प्रस्ट पारे।

प्रतिवेदनमा उनले हरेक क्षेत्रमा भएको अत्यधिक राजनीतीकरण र ‘आफ्ना मान्छे’ खोज्ने प्रवृत्तिलाई गम्भीर भूलको रूपमा स्वीकार गरेका छन्।

कुटनीतिक क्षेत्रमा समेत भागबन्डाका आधारमा राजदूत नियुक्ति गरिँदा अन्तर्राष्ट्रिय स्तरमा देशको छवि बिग्रिएको र विधिको प्रश्न उठेको उनले बताए।

साथै स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारितामा कमी र शिक्षा विधेयकलाई निष्कर्षमा पुर्‍याउन नसक्दा शिक्षक एवं विद्यालय कर्मचारीहरूमा उत्पन्न असन्तुष्टिले आन्दोलनको स्थिति सिर्जना हुनुलाई उनले दुःखद पक्षका रूपमा व्याख्या गरेका छन्।

Copyright © 2024 | All rights reserved.