माघ ०३, २०८२, शुक्रबार

विन्ध्यवासिनी माविको ७९औँ वार्षिकोत्सव


Advertisement Image
clock icon 2 days, 15 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमका साथ ७९औँ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । 

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले सामुदायिक विद्यालयलाई अब्बल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका भास्करराज पन्त, सल्लाहकार बेनीबहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यार्थी प्राप्ति आचार्य र अस्मिता क्षेत्री लगायतले मन्तव्य राखेका थिए । सो समारोहको सञ्चालन शिक्षक महेन्द्रमणि पौडेलले गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेका छन् ।

आफ्ना बुबा र भाइ शिवराज आचार्यले अध्ययन गरेको यस विद्यालयको सम्मान र सम्झनामा उनले सो कोष स्थापना गरेको बताए ।

कार्यक्रममा ‘अध्यक्ष अवार्ड’ प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई प्रदान गरिएको थियो ।

वार्षिकोत्सवमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र दीर्घसेवा गर्ने शिक्षकहरूलाई पनि सम्मान गरिएको छ। एसइई २०८१ मा ४ जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई ५० हजार रुपैयाँ र कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने अनुज आचार्यलाई १० हजार रुपैयाँ नगद सहित सम्मान गरिएको थियो ।

२५ वर्षे दीर्घसेवा पदकबाट कमलाकुमारी पौडेल, १५ वर्षे सेवाबाट सिर्जना शर्मा सिग्देल र १० वर्षे सेवाबाट यमकुमारी पौडेल, प्रतिभा राणा र संगीत गायक सम्मानित भए । 

त्यस्तै तहगत उत्कृष्ट शिक्षक अवार्डबाट मीना शाही, जमुना बस्नेत, लक्ष्मी गुरुङ, मानबहादुर केसी र कृष्णप्रसाद पौडेल सम्मानित भए भने कर्मचारीतर्फ सुकमाया सापकोटा र राजु सार्कीले सम्मान पाए ।

समारोहमा आधारभूत तह इन्चार्ज महेन्द्रप्रसाद पौडेल, उत्कृष्ट अभिभावक मनहरी आचार्य र सृष्टि सुवेदी सहित ४ जना, उत्कृष्ट मनिटर निरञ्जन देवकोटा र सहमनिटर स्मृति विकलाई पनि सम्मान गरियो । उत्कृष्ट वर्ष विद्यार्थीको उपाधि पूर्णिमा भट्टराईले पाइन् । 

विज्ञान शिक्षक गोविन्द शर्मा पौडेललाई ‘दुर्गा केसी अक्षयकोष पुरस्कार’ र शिवप्रसाद सापकोटा तथा संगीता शर्मालाई ‘तोयनाथ श्याम तारा अक्षयकोष वर्ष शिक्षक पुरस्कार’ प्रदान गरियो ।

आफ्ना बालबालिकालाई आफैँ कार्यरत विद्यालयमा पढाउने कर्मचारीहरू अनिता बराल पौडेल, भीम गायक र धनमाया परियारलाई समेत सम्मान गरिएको थियो ।

पुस्तकालयमा किताब उपहार दिने अभियान शुरू गर्ने विद्यार्थी कृतिका अधिकारीलाई पनि विद्यालयले सम्मान गरेको छ । सो अभियानबाट हालसम्म ९५ थान पुस्तक संकलन भएको छ । 

सो अवसरमा मेयर आचार्यले विद्यालयका संस्थापक पण्डित मुक्तिनाथ शर्माको शालिकमा माल्यार्पण गरेका थिए ।

विद्यार्थीले पञ्चेबाजा, मार्च पास र विज्ञान प्रदर्शनीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको वार्षिकोत्सवका अवसरमा विद्यालयले रक्तदान, सरसफाइ र खेलकुद कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

Copyright © 2024 | All rights reserved.