माघ ०३, २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय सदस्यमा कृष्ण केसीको उम्मेद्वारी


Advertisement Image
clock icon 1 day, 11 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की कांग्रेसका पूर्व सभापति कृष्णबहादुर केसीले का‌ंग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएका छन् ।

काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनमा उनले नेपाली कांग्रेस गण्डकी प्रदेश खुला सदस्यका लागि गएराति मनोनयन दर्ता गरेका हुन् ।

गण्डकी खुला क्लष्टरमा दुई जना आवश्यक पर्छ । यसबाहेक महिला, जनजाति, खस आर्य, दलितसमेतका कोटा छुट्टाइएको छ ।

उनले अहिलेको परिवर्तनको पक्षमा आफ्नो उम्मेद्वारी रहेको प्रस्ट पारेका छन् ।

‘समग्रमा नेतृत्वदेखि नीतिमा परिवर्तन हुनुपर्छ र हामीले नयाँ सोच, योजना र कार्यक्रमका साथ पछिल्लो जेनजी पुस्ता राजनीतिसम्म जोडिन आएको छ,’ उनले भने, ‘यो पुस्तालाई राजनीतिमा जोडिराख्न र उनीहरुको भावनाको कदर गर्दै एउटा समुन्नत समाज र सुदृढ संगठनका लागि उम्मेदवारी दिएको हुँ ।’

साथै उनले यो केवल पदको आकांक्षा होइन, संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र काँग्रेसको उज्यालो भविष्यप्रतिको मेरो प्रतिबद्धताको अभिव्यक्ति हो भनेका छन् ।

केसी २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा प्रवेश गरेका हुन् । त्यसयता उनी निरन्तर क्रियाशील छन् । उनले पटक-पटक जेलनेलसमेत भोेगे । २०५६ सालमा तत्कालीन द्वन्द्वरत माओवादीकाे भौतिक कारबाहीमा उनको खुट्टासमेत भाँचिएको थियो ।

३ दिनदेखि जारी विशेष महाधिवेशनमा मंगलबार बन्दसत्रपछि निर्वाचन प्रक्रिया थालिएको थियो । राति स्थगनपछि बुधबार बिहानदेखि मनोनयन दर्ता प्रक्रिया पुनः शुरू भएको छ ।

महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेत महाधिवेशन पक्षधरले विशेष महाधिवेशन गरेका हुन् । जहाँ ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी छन् ।

यसैबीच पार्टी सभापतिमा गगन थापा र महामन्त्रीद्वयमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेद्वारी दिएको र उनीहरू सो पदमा निर्विरोध हुने सम्भावना रहेको स्रोतले बताएको छ । 

Copyright © 2024 | All rights reserved.