माघ ०३, २०८२, शुक्रबार

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै


Advertisement Image
clock icon 15 hours, 9 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले आज देशभर मकर (माघे) सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदै छ।

आजदेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुँदै जान्छन्। ज्योतिष र धर्मशास्त्रका अनुसार उत्तरायण शुरू हुने दिन गरिने स्नान, दान, जप र ध्यान अत्यन्तै पुण्यदायक मानिन्छ।

यसै अवसरमा देवघाट, रिडी, त्रिवेणी र वाग्मती जस्ता पवित्र तीर्थस्थलहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तराई क्षेत्रमा यस दिनलाई ‘नहान’ पर्वका रूपमा विशेष महत्वका साथ मनाउने गरिन्छ।

धार्मिक विश्वासअनुसार यस दिन तीर्थस्नान गरी तील दान गर्दा सुन दान गरे सरहको फल प्राप्त हुन्छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु र तिलका परिकार नखाने वा स्नान नगर्ने व्यक्ति जीवनभर रोगी हुन सक्ने उल्लेख छ।

यस पर्वमा खाइने खिचडी, तरुल, चाकु र पालुङ्गो जस्ता परिकारले जाडोमा शरीरलाई न्यानो राख्नुका साथै आयुर्वेदका अनुसार त्रिदोष नास गर्न समेत मद्दत पुर्‍याउँछन्। कतिपय स्थानमा पुसको अन्तिम दिन तरुल पकाएर माघमा खाने ‘पुसमा पाके, माघमा जाके’ भन्ने परम्परा समेत छ।

यस पर्वको पौराणिक र आध्यात्मिक महत्व पनि उत्तिकै छ। महाभारतका पात्र भीष्मले सूर्य उत्तरायण भएपछि मात्र इच्छा मृत्युवरण गरेको कथा प्रसिद्ध छ। यस्तै, पुस पूर्णिमादेखि शुरू भएको श्री स्वस्थानी व्रतकथा र माघ स्नानको क्रम पनि यस महिनाभर जारी रहन्छ।

अर्कोतर्फ, कन्दमूलको सेवन गरिने यो दिनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षदेखि ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ का रूपमा पनि मनाउन थालेको छ।

Copyright © 2024 | All rights reserved.