माघ ०८, २०८२, बुधबार

कास्कीमा तीन सिटका लागि ४९ उम्मेद्वार प्रतिस्पर्धामा, को को हुन् ?


Advertisement Image
clock icon 2 hours, 46 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन ओटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

कास्कीका तीन ओटै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टी र स्वतन्त्र उम्मेद्वारले उत्साहजनक रुपमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गराउन पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकको र्यालीसहित उम्मेद्वारहरू निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । सबै उम्मेदवारले आ-आफ्नो एजेन्डासहित चुनावी अभियान शुरू गर्ने बताएका छन् ।

कास्की १ मा १७ उम्मेद्वार

कास्की निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका लागि १७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामघाटमा मंगलबार मुख्य दलका नेता तथा स्वतन्त्र उम्मेद्वारहरूले उत्साहका साथ आफ्नो मनोनयन पत्र पेस गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेद्वारको दर्ता किताबअनुसार यस क्षेत्रमा साना र ठूला गरी १६ ओटा राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

जसमा नेपाली कांग्रेसका तर्फबाट तिलकबहादुर रानाभाट, नेकपा एमालेबाट बैन बहादुर क्षेत्री (अधिकारी) र नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खडक राज पौडेल र नेकपा माओवादी केन्द्रबाट कुमार परियार चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट बाबुराम थापाले मनोनयन दर्ता गराएका छन् ।

यस क्षेत्रमा अन्य राजनीतिक दलहरूबाट पनि उल्लेख्य उम्मेद्वारी परेको छ । उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, जनता समाजवादी पार्टी नेपालबाट रामकाजी चर्माकार र आम जनता पार्टीबाट हर्कबहादुर थापाले उम्मेद्वारी दिएका छन् ।

यस्तै, मंगोल नेशनल अर्गनाइजेसनबाट श्रीमान थापा, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर दर्जी र नेशनल रिपब्लिक नेपालबाट यजबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

अन्य साना दलहरूमा नेपाल मानवताबादी पार्टीबाट आशबहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विलबहादुर तामाङ लामाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै, नेकपा (एकीकृत माक्र्सवादी लेनीनवादी) बाट पनि उम्मेद्वारी परेको छ । स्वतन्त्र उम्मेद्वारका रूपमा कृष्णबहादुर राउतले मनोनयन दर्ता गराएका छन् ।

कास्की २ मा १७ उम्मेद्वार

कास्की प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा आगामी निर्वाचनका लागि १७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मंगलबार ड्यामसाइटस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका १२ र पाँच जना स्वतन्त्र उम्मेद्वारले मनोनयन पत्र पेस गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले प्राप्त मनोनयनहरूको रुजु गरी उम्मेद्वारको दर्ता किताब सार्वजनिक गरेको छ ।

मुख्य दलहरूमध्ये नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद बास्तोला मधु, नेकपा एमालेका तर्फबाट रश्मी आचार्य र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हेमबहादुर थापाले उम्मेद्वारी दिएका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उत्तमप्रसाद पौडेल र नेकपा माओवादी केन्द्रबाट प्रेमबहादुर थापा चुनावी मैदानमा उत्रिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन् ।

अन्य राजनीतिक दलहरूबाट पनि उम्मेद्वारी परेको छ । नेपाल मजदुर किसान पार्टीबाट विनिता अबाल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट ओमबहादुर गुरुङ र नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ उम्मेद्वार बनेका छन् ।

यस्तै, नेपाल जनमुक्ति पार्टीबाट खयमबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा स्वतन्त्र उम्मेद्वारका रूपमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । जसमा विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, निरन्जन कोइराला, निर्दोषविक्रम पौडेल र वसन्तराज घिमिरे छन् । 

कास्की ३ मा १५ उम्मेद्वार

कास्की निर्वाचन क्षेत्र नं ३ मा १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मंगलबार मालेपाटनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका उम्मेद्वारहरूले आफ्नो मनोनयन पत्र पेस गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार यस क्षेत्रमा मुख्य दलहरूसँगै विभिन्न साना दलका उम्मेद्वारहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

पार्टीका तर्फबाट मनोनयन दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका मनोज गुरुङ, नेकपा एमालेका दामोदर पौडेल बैरागी र नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी छन् । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बिना गुरुङ र नेकपा माओवादी केन्द्रका तर्फबाट कमल खड्का विश्वकर्माले उम्मेद्वारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट अर्जुनप्रसाद खनाल चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतियोगितामा अन्य दलहरूका तर्फबाट पनि उल्लेख्य उम्मेद्वारी परेको छ । नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीबाट कुशल थापा क्षेत्रीले उम्मेद्वारी दर्ता गराएका छन् ।

मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की र उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङले मनोनयन पेस गरेका छन् ।

Copyright © 2024 | All rights reserved.