0
प्रतिक्रिया
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेद्वारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को कानूनी प्रावधान बमोजिम आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारले मनोनयनका क्रममा पेस गरेको व्यक्तिगत विवरण बाहिर ल्याएको हो।
निर्वाचन प्रक्रियालाई थप पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले यस्तो विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
मतदाता, सञ्चारमाध्यम र सरोकारवाला निकायले उम्मेद्वारको योग्यता, पृष्ठभूमि र अन्य आवश्यक जानकारी सहजै प्राप्त गर्न सकून् भनेर यो विवरण आयोगको आधिकारिक वेबसाइटमा राखिएको छ।
यसले आम नागरिकलाई आफ्ना उम्मेद्वारबारे सही सूचनाका आधारमा निर्णय लिन मद्दत पुग्ने आयोगको विश्वास छ।
गत माघ ६ गते देशभरका एक सय ६५ ओटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको थियो।
आयोगको तथ्याङ्क अनुसार प्रत्यक्षतर्फ कुल तीन हजार चार सय ८६ जनाले उम्मेद्वारी दिएका छन्।
जसमा तीन हजार ८९ जना पुरुष, तीन सय ९६ जना महिला र अन्य एक जना उम्मेदवार रहेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले चुनावी कार्यतालिका अनुसार आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ।
Copyright © 2024 | All rights reserved.