0
प्रतिक्रिया
पोखरा– युनाइटेड क्लबको आयोजनामा पोखरामा भएको १४औँ पोखरा महोत्सव आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
अमरसिंह चौरमा पुस २९ गतेदेखि १३ दिनसम्म चलेको महोत्सवमा साढे २ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। महोत्सवबाट ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ।
महोत्सवको समापन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे। उनले पोखरा महोत्सवलाई महानगरले महत्व दिएर ‘रेडबुक’ मै समेटिएको बताए। साथै, युनाइटेड क्लबले पोखरा–२७ मा निर्माण गरिरहेको छात्रावासका लागि महानगरबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवमार्फत क्लबले शिक्षा, स्वास्थ्य र पर्यटन जस्ता क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे।
महोत्सवमा भएको टिकटक प्रतियोगितामा गोले लामाले उपाधि जित्दै २५ हजार रुपैयाँ पुरस्कार पाए। उनले उक्त रकम क्यान्सर पीडित कास्की भुजुङखोलाकी दिलमाया नेपालीलाई उपचारका लागि सहयोग गरेका छन्।
लक्की ड्र अन्तर्गत मुख्य प्रायोजक बेटर होम एप्लाइन्सेजको स्टलबाट सामान खरिद गर्ने पोखराका ग्यालुबहादुर गुरुङले १ टनको एसी जिते। अन्य विजेताले वाटर डिस्पेन्सर, चिम्नी र भ्याकुम क्लिनर पुरस्कार पाए।
युनाइटेड क्लबले महोत्सवको आम्दानीबाट जिल्ला खेलकुद विकास समिति कास्कीलाई १ लाख रुपैयाँ सहयोग गरेको छ। क्लबका अनुसार संकलित रकम छात्रावास निर्माण र अन्य सामाजिक काममा खर्च गरिनेछ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक कार्यक्रम, लोकदोहोरी र लाइभ कन्सर्टले दर्शकलाई मनोरञ्जन दिएको आयोजकले बताएका छन्।
Copyright © 2024 | All rights reserved.