0
प्रतिक्रिया
काठमाडौँ । आइतबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनपछि माथिल्लो सदनको शक्ति सन्तुलन फेरिएको छ।
१८ सिटका लागि भएको निर्वाचनमा नौ सिट जित्दै नेपाली कांग्रेस राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ।
यसअघि कांग्रेसका १६ सांसद थिए भने अहिले नौ जना थपिएर संख्या २५ पुगेको छ।
निर्वाचनअघि पहिलो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी) भने दोस्रो स्थानमा झरेको छ।
नेपाली कम्युनिस्ट पार्टी अब राष्ट्रिय सभामा दोस्रो स्थानमा रहनेछ। यसअघि यही पार्टी राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल थियो।
नेकपा माओवादी केन्द्रका १७ र नेकपा एकीकृत समाजवादीका आठ सांसद मिलेर बनेको यो पार्टीसँग पहिले २५ सदस्य थिए।
ती २५ मध्ये आठ जना सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।
आइतबार भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका कुनै पनि उम्मेद्वार विजयी हुन सकेनन्।
त्यसपछि राष्ट्रिय सभामा यो पार्टीको सांसद संख्या घटेर १७ मा सीमित हुने भएको छ।
तेस्रोमा नेकपा एमाले रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका १० जना सांसद् छन् । त्यसमध्ये आठ जना आगामी फागुन २० मा बिदा हुँदैछन् ।
आइतबार भएको निर्वाचनबाट आठ जना नै निर्वाचित भएकाले उसको हैसियत यथावत तेस्रो स्थानमा रहनेछ ।
यो निर्वाचनमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल भएको थियो।
तालमेलकै आधारमा कांग्रेसले नौ, एमालेले आठ र जसपाले एक सिट जितेका हुन्।
राष्ट्रिय सभामा अब जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक सांसद रहनेछन्।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २० गतेदेखि शुरू हुनेछ।
५९ सदस्यीय राष्ट्रिय सभामा तीन जना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।
Copyright © 2024 | All rights reserved.