0
प्रतिक्रिया
पोखरा। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३-१ को रोमाञ्चक जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३-३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५-१५ को जित निकाल्यो ।
चौथो सेटमा गण्डकीले २५-१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पार्यो । च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ ।
पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो ।
आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
यसअघि सोमबार भएका खेलमा महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकाल्यो । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
एपीएफले पहिलो सेट २५-२०, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो । महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।
आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५-११, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्यो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
Copyright © 2024 | All rights reserved.