चैत ०७, २०८२, शनिबार

पश्चिमी वायुको आंशिक प्रभावः चार प्रदेशमा वर्षा


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने जनाएको छ।

जसका कारण मंगलबार र बुधबार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्नेछ। देशका हिमाली भूभागमा आंशिक बादल लागे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा राति नै हल्का हिमपात वा वर्षाको शुरूवात हुन सक्नेछ।

मंगलबार मौसममा पश्चिमी वायुको प्रभाव थप देखिनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने र थोरै स्थानमा हल्का हिमपात वा वर्षा हुनेछ।

कर्णाली र सुदूरपश्चिमका बाँकी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

मंगलबार राति मौसम थप खराब हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा बादल लाग्नेछ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपात वा वर्षा हुनेछ भने पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।

तराईका थोरै स्थानमा हल्का वर्षा र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ।

बुधबार भने मौसम प्रणाली देशभर फैलिनेछ। बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुनेछ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा बाँकी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार रातिबाट भने मौसममा क्रमिक सुधार आउनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहे पनि बाँकी भूभागमा आंशिक बादल मात्र लाग्ने महाशाखाले उल्लेख गरेको छ।

Copyright © 2024 | All rights reserved.