माघ २२, २०८२, बुधबार

अस्पतालबाटै शव हराएपछि...


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

सिरहा । एक किशोरीको शव अस्पतालबाटै हराएपछि लहान र गोलबजार क्षेत्र तनावग्रस्त बनेको छ।

गोलबजार नगरपालिका वडा नं ३ जमदहकी १६ वर्षीया निशा बानियाँको  पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव नै फेला नपरेपछि आफन्त र स्थानीयले विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले पूर्व-पश्चिम राजमार्गको गोलबजार खण्डमा चक्काजामसमेत गरेका छन्।

गत शुक्रबार (माघ ९ गते) निशा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीले आत्महत्या भएको प्रारम्भिक अनुमान गर्दै कानूनी प्रक्रिया पूरा गर्न शव लहान अस्पताल पठाएको थियो।

भारतमा रहेका उनका आमा–बुबा आइतबार शव लिन अस्पताल पुग्दा शव नभेटिएपछि विवाद चर्किएको हो। अस्पताल जस्तो संवेदनशील स्थानबाट पोष्टमार्टम नै नभएको शव हराउनु गम्भीर लापरबाही भएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार निशा मृत्यु हुनुभन्दा अघिल्लो दिन लहानकै एक युवकको घरमा बसेकी थिइन् र उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइएको छ।

युवकको घरबाट फर्किएपछि आत्महत्या भएको र शरीरमा चोटपटक देखिएको भन्दै घटनामा शंका गरिएको छ।

स्थानीयले अस्पताल र प्रहरीको मिलेमतोमा प्रमाण मेटाउन शव हराइएको हुनसक्ने आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

अस्पताल प्रमुख डा. रञ्जित झाले शव ‘मिसप्लेस’ हुन सक्ने बताएका छन्। वडाध्यक्ष धनप्रसाद लामाले आज बिहान १० बजेसम्म शव उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शव खोजी र दोषीमाथि कारबाहीको माग बढ्दै जाँदा स्थानीय प्रशासन दबाबमा परेको छ।

Copyright © 2024 | All rights reserved.