0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका–६ बैदाममा वडा स्तरीय कृषि सञ्जालको समन्वयमा मल, बिउ वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २ सय ६० जना कृषकलाई बिउ र २ हजार किलो गड्यौला मल वितरण गरिएको छ।
जैविक मल उत्पादनलाई प्रोत्साहन गर्दै रासायनिक मल र विषादीको प्रयोग घटाउने तथा वातावरणमैत्री कृषि प्रणाली विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि सञ्जाल बैदामकी अध्यक्ष बिन्दा धरेलले जानकारी दिइन्।
पोखरा महानगरपालिकाको प्राविधिक सहयोग र वडा कार्यालय–६ बैदामको आर्थिक सहयोगमा कार्यक्रम शनिबार सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले रासायनिक मलको अत्यधिक प्रयोगले माटो कमजोर बनाएको भन्दै गड्यौला मलले जमिनको उर्वराशक्ति बढाउने बताए। उनले कुहिने फोहोरलाई अर्गानिक कम्पोस्ट मलमा रूपान्तरण गर्ने उद्देश्य वडाले लिएको जानकारी दिए।
महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले कृषकलाई जैविक कृषि प्रणाली अपनाउन र गड्यौला मल उत्पादनमा सक्रिय हुन आग्रह गरे। उनले जैविक मल उत्पादनका लागि आवश्यक सामग्री र तालिम निःशुल्क उपलब्ध गराइँदै आएको बताए।
वडा सदस्य पवित्रा थापाले वितरण गरिएको मल र बिउ प्रयोग गरी अर्गानिक उत्पादन गर्न कृषकलाई आग्रह गरिन्। वडा सदस्य बासु बरालले कृषिमा आत्मनिर्भर भई उत्पादन निर्यात गर्न सके कृषकको समृद्धि सम्भव हुने बताए।
कृषि सञ्जालकी सल्लाहकार बबिता मल्लले किसानलाई प्रोत्साहन र युवालाई कृषि पेशातर्फ आकर्षित गर्न कृषि अनुदान बढाउनुपर्ने धारणा राखिन्। वडा नं–९ की कृषि सञ्जाल संयोजक विमला राना भाटले सहज र सस्तो मूल्यमा मल र बिउ उपलब्ध गराउन स्थानीय सरकारले ध्यान दिनुपर्ने बताइन्।
कार्यक्रम सञ्जालकी अध्यक्ष बिन्दा धरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष रामेश्वर न्यौपानेले राखेका थिए भने सचिव चन्द्रकला घिमिरे पहारी लगायतले आफ्ना भनाइ राखेका थिए।
Copyright © 2024 | All rights reserved.