0
प्रतिक्रिया
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशभर तीव्र बनेको छ। गाउँगाउँमा उम्मेद्वारको चहलपहल बढ्दो छ, चुनावी नाराले बस्ती तताइरहेका छन्। अन्य दलले समयमै तयारी थालेका बेला आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली कांग्रेस पनि नेतृत्व परिवर्तन र संगठनात्मक निकाससहित चुनावी मैदानमा उत्रिएको छ। पार्टीले आफूलाई सुधारिएको, रुपान्तरित र पुस्तान्तरणको बाटोमा अघि बढेको दाबी गर्दै यसपटक करिब ७८ प्रतिशत नयाँ अनुहारलाई उम्मेद्वार बनाएको छ। यही सूचीमा पर्ने नयाँ अनुहारमध्ये एक हुन् - दोलखाबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अजयबाबु शिवाकोटी।
शिवाकोटीको परिचय पत्रकारिताबाट शुरू हुन्छ। दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताएका उनी सम्पादकदेखि कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महासचिवसम्मको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। अनुसन्धानमूलक र चुनौतीपूर्ण पत्रकारितामा रुचि राख्ने शिवाकोटी २०६२/६३ को जनआन्दोलनका क्रममा आन्दोलनका दृश्य सबैभन्दा पहिले कैद गर्ने पत्रकारका रूपमा चिनिएका थिए।
सत्ता र शक्तिलाई प्रश्न गर्ने पत्रकारका रूपमा पहिचान बनाएका उनी तत्कालीन सभामुख कृष्णबहादुर महरा र एमाले नेता तथा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटासँग जोडिएका समाचार सार्वजनिक गरेपछि राष्ट्रिय बहसको केन्द्रमा आएका थिए। विशेषगरी बाँस्कोटासँग सम्बन्धित ७० करोड रुपैयाँ घोटालाको अडियो प्रकरण सार्वजनिक गर्ने पत्रकारका रूपमा उनको नाम स्थापित भयो।
यही पत्रकारिता यात्राले उनलाई राजनीतितर्फ तानेको देखिन्छ। २०७८ सालदेखि औपचारिक राजनीतिमा होमिएका शिवाकोटी दोलखामै जन्मिएका हुन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट दोलखाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी विशेष महाधिवेशनपछि पनि केन्द्रीय भूमिकामा छन्। पत्रकारितामा प्रश्न गर्ने ठाउँमा उभिएका शिवाकोटी अब जनताका सवालमा सरकारलाई प्रश्न गर्ने र जवाफदेही बन्ने भूमिकामा जान चाहन्छन्।
कांग्रेसबाट टिकट पाएपछि २४ घण्टाभित्रै मनोनयन दर्ता गरेर मतदातासँग भेटघाट थालेका शिवाकोटी उत्साहित देखिन्छन्। उनी भन्छन्, “दोलखामा मसँगै प्रत्यासी रहनुभएका अग्रज नेता-कार्यकर्ताले पनि मेरो मनोनयनमा सहभागी भएर राजनीतिक संस्कार देखाउनुभयो। त्यसले मलाई थप ऊर्जा दियो।” उनका अनुसार अहिले पार्टी पंक्तिलाई संगठित गरेर मतदाताको माझ पुग्ने काम तीव्र बनाइएको छ।
पत्रकारिताबाट राजनीतिमा आउँदा अवसरभन्दा चुनौती बढी देखिएको उनी स्वीकार्छन्। “हिजो पत्रकार हुँदा हामी प्रश्न गर्ने ठाउँमा थियौं, आज जवाफदेही हुनुपर्ने ठाउँमा छौं,” उनी भन्छन्, “प्रश्नको घेराबाट भाग्ने होइन, त्यहीँ उभिएर सही जवाफ दिन सक्नुपर्छ।” राजनीतिप्रति जनआक्रोश बढिरहेका बेला पारदर्शिता, सुशासन र जवाफदेहिताले मात्र जनविश्वास जित्न सकिने उनको धारणा छ।
दोलखामा कांग्रेसका धेरै आकांक्षी हुँदाहुँदै टिकट पाएको विषयमा पनि उनी ढुक्क देखिन्छन्। कांग्रेसको परम्परा सम्झँदै उनी भन्छन्, “पार्टीले उम्मेदवार तय गरिसकेपछि त्यसलाई सहयोग गर्नु कांग्रेसको संस्कार हो। केही व्यक्तिगत मतभेद भए पनि संगठनात्मक रुपमा त्यसको प्रभाव पर्दैन।” अग्रज नेताको सुझाव र समर्थन लिएर अघि बढेको दाबी उनी गर्छन्।
चुनावी प्रचारप्रसारका लागि समय कम भएको विषयमा भने उनी चिन्तित छन्। निर्वाचन आयोगले तोकेको समय ग्रामीण भेगका लागि पर्याप्त नभएको उनको अनुभव छ। “दोलखाजस्तो जिल्लामा एउटा वडाका सबै घर पुग्नै ३-४ दिन लाग्छ,” उनी भन्छन्, “घरदैलो भनेको नमस्कार गरेर हिँड्नु मात्रै होइन, दुई मिनेट बसेर कुरा गर्नुपर्छ।”
चिसो मौसम, हिमाली भेगमा मानिस घरमा नहुनु, दुर्गम भूगोलजस्ता चुनौतीबीच उनी घरदैलो, फोन सम्पर्क, सामाजिक सञ्जाल र कार्यकर्तामार्फत मतदातासँग पुग्ने प्रयासमा छन्। “हामी भेट्न नपुगेका मतदातासँग पनि विनम्र क्षमायाचना गर्दै यसैलाई मत मागेको रूपमा बुझिदिन आग्रह गर्छु,” उनी भन्छन्।
चुनावमा पुराना दलमाथि मासु–मदिरासँग भोट साट्ने आरोप लाग्दै आएको सन्दर्भमा शिवाकोटीले सुधारिएको कांग्रेसले त्यस्ता प्रवृत्ति नदोहोर्याउने दाबी गर्छन्। उम्मेद्वारी दर्ताका क्रममा अन्य दलबाट आचारसंहिता उल्लंघन भएको घटनालाई स्मरण गर्दै उनी भन्छन्, “जो-जोले गल्ती गरेका छन्, त्यसलाई नदोहोर्याउन सबैले आत्मसंयम देखाउनुपर्छ।”
पार्टी रुपान्तरणपछि उच्च शिर लिएर मत माग्न सक्ने अवस्था बनेको अनुभूति उनी गर्छन्। “नेतृत्व परिवर्तन नभएको भए प्रश्नको भारले हामी थिचिन्थ्यौं,” उनी भन्छन्, “अहिले सुधारिएको कांग्रेसका प्रतिनिधिका रूपमा मतदातामाझ उभिन पाउँदा उत्साह बढेको छ।” नयाँ दलहरूको चुनौतीलाई पनि उनी स्वाभाविक प्रतिस्पर्धाका रूपमा लिन्छन्। “सबैसँग स्वस्थ प्रतिस्पर्धाका लागि हामी तयार छौँ,” उनको भनाइ छ।
सांसदको भूमिकाबारे बोल्दा शिवाकोटी स्पष्ट छन्। प्रतिनिधिसभा सदस्य कानुन बनाउनका लागि चुनिने भए पनि जनताको विकाससम्बन्धी अपेक्षाबाट अलग रहन नसकिने उनी बताउँछन्। “नीति निर्माण, बजेट विनियोजनमा प्रभाव पार्ने, कार्यपालिका माथि प्रश्न उठाउने भूमिकाबाट पनि जनताको अपेक्षा पूरा गर्न सकिन्छ,” उनी भन्छन्। तर असम्भव आश्वासन दिनु गलत हुने चेतावनी पनि दिन्छन्।
दोलखाका मतदाताले आफूलाई भोट दिनुपर्ने आधारका रूपमा उनी सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको आफ्नो विगतलाई अघि सार्छन्। “पहिलोपटक उम्मेद्वार बनेको म सुशासनमा विश्वास गर्छु,” उनी भन्छन्, “हिजो पत्रकारितामा विसंगति भण्डाफोर गरेजस्तै भोलि संसद्मा पनि जनताको आवाज उठाउनेछु।” नयाँ अनुहार भएकाले सबैले नचिन्लान्, तर दोलखाको भूगोल, समस्या र जनभावना आफूले राम्ररी चिनेको उनको दाबी छ।
सुधारिएको कांग्रेस, नयाँ नेतृत्व र नयाँ अनुहारको सन्देश लिएर दोलखामा चुनावी प्रतिस्पर्धामा उत्रिएका अजयबाबु शिवाकोटी पत्रकारिताबाट राजनीतिसम्मको यात्रामा अब जनताको मतको कसौटीमा छन्। जनताले उनको विगत, प्रतिवद्धता र भविष्यको आश्वासनलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरा फागुन २१ को मत परिणामले तय गर्नेछ।
Copyright © 2024 | All rights reserved.