0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका–२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर प्रथम वर्षका ३७ जना नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ । नवप्रवेशी विद्यार्थीलाई आत्मविश्वास, लक्ष्यप्रतिको दृढता र विवेकपूर्ण मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले कलेजले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तिका रूपमा बोल्दै ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरिबहादुर बुढाथोकीले अभिमुखीकरणले विद्यार्थीमा गहिरो सन्देश प्रवाह गरेको बताए ।
उनले शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी जीवनको फराकिलो दायरासँग जोड्नुपर्नेमा जोड दिए । बुढाथोकीले भने, ‘ज्ञानको औपचारिक ढोका मात्र होइन, जीवन बुझ्ने, दृष्टि विस्तार गर्ने र बौद्धिक यात्राको आरम्भका रूपमा यो कार्यक्रम रहेको छ ।’
कलेजका सल्लाहकार बाबुराम गिरीले उपप्राध्यापकहरुका प्रेरणादायी विचार, अनुभवजन्य सन्देश र जीवनमुखी सुझावहरूले विद्यार्थीमा नयाँ चेतना जागृत गराएको अनुभूति भएको बताए । उनले विद्यार्थीको शैक्षिक यात्रालाई केवल डिग्रीसम्म सीमित नगरी सोच, दृष्टि र चरित्रको रूपान्तरणसँग जोड्नुपर्ने धारणा राखे ।
कार्यक्रममा विद्यार्थीका तर्फबाट समिता गुरुङ र सविता केसीले पनि आफ्ना भनाइ राखेका थिए । उनीहरुले कलेजको शैक्षिक वातावरण र भावी योजनाबारे आफ्नो धारणा व्यक्त गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख डिल्लीराम पौडेलले सम्पूर्ण नवप्रवेशी विद्यार्थीको समुज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै स्वागत गरेका थिए । कलेज सञ्चालक समिति अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपप्राध्यापक सुनिलदत्त बरालले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.