माघ २४, २०८२, शुक्रबार

देशलाई समृद्ध बनाउनुपर्नेमा उम्मेदवार रानाभाटको जोड


Advertisement Image
clock icon 1 day, 10 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेसतर्फ कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार तिलक रानाभाटले देशलाई समृद्धिको दिशामा लैजान गरिबलाई गरिब बनाउने होइन, गरिबलाई समृद्ध बनाउने नीति आवश्यक रहेको बताएका छन्।

पोखरा महानगरपालिका-१४ मा आयोजित आमा समूह, टोल विकास संस्था र ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा उम्मेद्वार रानाभाटले देशभित्र उपलब्ध स्रोतसाधनको उचित उपयोगमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर १४ वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा सहभागी नागरिकहरूले उम्मेद्वार रानाभाटलाई शुभकामना र आशिर्वाद दिएका छन्।

इकाई सभापति दिवस कुँवरका अनुसार सो अवसरमा विभिन्न क्षेत्रका नागरिकसँग सुझाव संकलनसमेत गरिएको थियो।

यसैबीच, नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति-१४ ले निर्वाचनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, महासमिति सदस्य माया बराल, महाधिवेशन प्रतिनिधि संज्ञा पोखरेल, महिला नेत्री ईश्वरी गुरुङलगायतले मन्तव्य राखेका थिए।

कास्की क्षेत्र नम्बर १ मा चुनावी अभियानलाई तीव्र पारिएको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिएका छन्।

यसै क्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति-१३ को अगुवाइमा उम्मेद्वार रानाभाटले पोखरा-१३ का महिलासँग पनि भेटघाट गरी सुझाव संकलन गरेका छन्।

इकाई सभापति माधवप्रसाद सिग्देलका अनुसार कार्यक्रममा महासमिति सदस्य दीपक गुरुङ ‘माइला’ले मन्तव्य राखेका थिए।

Copyright © 2024 | All rights reserved.