0
प्रतिक्रिया
पोखरा। नेपाली कांग्रेस क्षेत्र नं. ३ कास्कीले आफ्नो क्षेत्र भित्र पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडा, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा प्रचार प्रसार कार्यालय उद्घाटन एवम् उम्मेद्वारसहितको घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो ।
सोहीअन्तर्गत पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा नेपाली काँग्रेसको चुनाव प्रचार-प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटनसहित घरदैलो कार्यक्रम गरिएको छ ।
कार्यालयको नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, पूर्व सांसद शारदा पौडेल, कास्की काँग्रेसका उपसभापति एवम् कास्की क्षेत्र नं ३ का निर्वाचन परिचालन समिति संयोजक युवराज कुँवर र उम्मेद्वार मनोज गुरुङले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बद्लिएर आएको नेपाली काँग्रेसले अब देश र जनताका अवस्थालाई नै बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताए ।
कास्की क्षेत्र नं.३ ले प्रत्यक्षतर्फ मनोज गुरुङ र समानुपातिकतर्फ आइबहादुर गुरुङ जस्ता इमानदार र सादगी नेता उम्मेद्वार पाएको बताउदै क्षेत्र नम्बर ३ का जनताले जिताएरै छाड्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा विगत ३५ वर्ष देखि कम्यूनिष्ट पार्टीमा लागेका समाजसेवी चक्रपाणि त्रिपाठीसहित टिकाराम भट्टराई, नवयुवा विजय अधिकारी, इन्दिरा त्रिपाठीलगायत दर्जन बढी व्यक्ति नेपाली काँगेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेका समाजसेवी चक्रपाणि त्रिपाठीले पटक पटक कम्यूनिष्ट पार्टीहरुले आफू र आफु जस्ता इमानदार कार्यकर्तालाई झुठा अस्वासन बाडेर देशलाई नै कंगाल बनाउन लागेको आरोप लगाए । आफू लहड र भावनामा नभइ निकै सुजबुझ ढंगले नेपाली काँगे्रसमा प्रवेश गरेको बताए ।
जेनजी युवा एलिसा अधिकारीले अहिलेको परिवेशमा भाषण गर्ने नभइ जनताको भावना बुझ्ने र काम गर्ने नेता चाहिएको भन्दै त्यो नेता क्षेत्र नंं. ३ मा मनोज गुरुङ र आइबहादुर गुरुङ भएको बताइन् ।
अनुभवी नेतृत्व विना देश अगाडि बढ्न नसक्ने बताउँदै देशलाई निकास दिन गगन थापा भावी प्रधानमन्त्रीको रुपमा अघि बढिसकेको उनको भनाई थियो ।
नेपाली काँग्रेस कास्कीका उपसभापति एवं कास्की क्षेत्र नंम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवरले काँगे्रस देशको पार्टी मात्र नभइ देशको शक्ति भएको भन्दै देश बदल्ने अठोटका साथ बदलिएर आएको काँग्रेसलाई सबै क्षेत्रमा जिताएर नेपाली काँग्रेसको सरकार बनाउन जनता आतुर रहेको बताए ।
नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं ३ का उम्मेद्वार मनोज गुरुङले राजनिति आफ्नो लागि सेवा भएको बताउँदै व्यक्तिगत इच्छा त्यागेर जनताले देखेको सपनालाई आफूले बोकेर पूरा गर्ने अठोटका साथ लाग्ने प्रतिवद्धताका साथ हिँडेको जनाए ।
आफ्नो क्षेत्रमा डुल्दा घरघरमा आशा र सम्भावना बोकेका युवा काँग्रेसमा आकर्षित भएको बताउँदै उनले युवालाई देशमै बस्ने वातावरण बनाउन इमानदारीका साथ लाग्ने स्पष्ट पारे ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवं पूर्वसांसद शारदा पौडेल, अग्रज नेता दुर्गा तिमिल्सीना, नवयुवा विवेक तिमिल्सिनालगायतले बदलीएको काँग्रेसले देशलाई बदल्ने जिकिर गर्दै नेपाली काँग्रेसलाई विजयी गराउनुपर्ने धारणा राखे ।
नेपाली काँग्रेस पोखरा २४ इकाइ सभापति प्रतापबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति हरिदत्त तिमिल्सिना र संचालन इकाइ सचिव चन्द्रेश्वर बस्ताकोटीले गरेका थिए ।
त्यसैगरी नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ अन्तर्गत रुपा गाउँपालिका वडा नं. ६ वरको डालीमा सम्पर्क कार्यालय स्थापन गरिएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपा गाउँ पालिकाको वडा नं. ६ वरको डालिमा सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
सम्पर्क कार्यालयको नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले उद्घाटन गरेका थिए।
कार्यक्रममा रानाभाटले मुलुकको स्थिरता, शान्ति, विकास र स्थायित्वका लागि काँग्रेसलाई जिताउनुपर्ने बताए ।
कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार तिलक रानाभाटले परिवर्तनको नेतृत्व गरेको काँग्रेसले उन्नति प्रगति र समुन्नतीको पनि नेतृत्व गर्ने बताए ।
पार्टी संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै काँग्रेस प्रचार प्रसारलाई तिव्र पारेको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, वडा इकाइ सभापति बलराम गुरुङ, उपसभापति जुम्मेदिन मिया, सचिव टिकप्रसाद गुरुङ युवा नेता गोपाल गुरुङलगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.