माघ २५, २०८२, शनिबार

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम शुरू


Advertisement Image
clock icon 19 hours, 56 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविमा बिहीबारदेखि ३१औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीन दिनसम्म संचालन गरिने यो कार्यक्रममा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।

विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार विहीबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रोदिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् ।

विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि वार्षिक सांस्कृतिक कार्यक्रम तथा कला प्रदर्शनी गरिएको प्राचार्य बरालले जानकारी दिए ।

पहिलो दिनको कार्यक्रमको शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरेका थिए । प्राचार्य बरालले विद्यालयको क्यालेन्डरमै समेटेर सबै तहका विद्यार्थीका लागि कार्यक्रम राखेको बताए। विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले हरेक वर्ष कार्यक्रम गर्ने गरेको उनले बताए ।

‘विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नराखि उनीहरुमा रहेको आत्मविश्वास र क्षमतालाई बाहिर देखाउनका लागि पनि यस्ता कार्यक्रम जरुरी छन्,’ बरालले भने, ‘स्टेजमा कार्यक्रम पस्किदा एक किसिमको सिकाई विद्यार्थीमा देखिनेछ । त्यो सिकाईलाई अर्काे विद्यार्थीले उपयोग गर्नेछ ।‘ कक्षा कोठामा मात्र नभई बाहिर पनि क्षमता देखाउने अवसर विद्यालयले विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने उनले बताए ।

‘सबै किसिमको सिकाईमा विद्यार्थीको जिम्मेवारपूर्ण सहभागिता गराउने प्रयास गरेका छौं,’ प्राचार्य बरालले भने, ‘विद्यालयले विद्यार्थीलाई जुनसुकै तरिकाले पनि सिकाईमा जोड्ने र जिम्मेवार बनाउने प्रयास गरेको छ । योग्य नागरिक बनाउन विद्यालय हरदम प्रयासरत रहेको छ ।’ विद्यालयले यही अवसरमा कला प्रदर्शनी पनि गरेको थियो । विद्यार्थीले फुर्सदको समयमा कोरेका कलालाई उक्त अवसरमा प्रदर्शनमा राखिएको थियो ।

प्रमुख अतिथि आचार्यले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनका लागि हरदम प्रयास गरिरहेको बताए ।

‘मदरल्याण्डको नतिजाले सिंगै मुलुकभित्र पहिचान कमाएको छ । विद्यार्थीलाई किताबि मात्र नभई बाहिरी ज्ञान पनि आवश्यक छ । त्यस्तो ज्ञान दिलाउन विद्यालय नै अग्रसर हुनुपर्छ,’ उनले भने, ‘सबै विद्यालयले मेहनत गर्ने हो भने उत्कृष्ट रिजल्ट हात पर्छ ।’

विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखि व्यवहारिक शिक्षा दिनुपर्ने पनि उनले बताए । पोखरालाई शैक्षिक क्षेत्रको उत्कृष्ट गन्तव्य बनाउने प्रयासका लागि पनि मदरल्याण्ड जस्ता स्कुलको उत्कृष्ट रिजल्टले सघाएको उनले बताए ।

विशेष अतिथि पोखरा महानगरपालिका–७ का अध्यक्ष राममोहन आचार्यले विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमले साना बालबालिकाको क्षमता प्रस्फुटन हुने बताए ।

‘बालबालिकाका लागि गतिलो सिकाई यस्ता कार्यक्रमले दिलाउँछ,’ उनले भने, ‘पढाईमा मात्र नभई सबै गतिविधिमा हुने विद्यार्थीको सहभागिताले गतिलो अर्थ राख्छ ।’ छोराछोरीको पढाईको गुणस्तर सुधार्नका लागि अभिभावकले छोराछोरीका लागि पर्याप्त समय दिनुपर्ने पनि उनले बताए । विद्यार्थीका लागि सीपमुलक शिक्षा आवश्यक रहेको वडाध्यक्ष आचार्यको भनाई थियो ।

उक्त अवसरमा पोखरा महानगरपालिकाले संचालन गरेको आधारभूत तह परीक्षा (बिएलइ) परीक्षामा अघिल्लो वर्ष ४ जिपिए ल्याएकी एकजना छात्रा, माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ४ जिपिए नै ल्याएका ११ जना सहित गतवर्ष राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक (३.९६ जिपिए) ल्याएका १२ जना गरि २४ जनालाई जनही ५० हजार रुपैयाँ, प्रमाणपत्र, दोसल्ला सहित सम्मान गरिएको थियो ।

प्रमुख अतिथि आचार्य, विद्यालय संचालक समितिका अध्यक्ष प्रेमनारायण पोखरेल, विद्यालयका निर्देशक डा. त्रिभुवन शर्मा बराल, प्लस टु इन्चार्ज नारायण आचार्य, प्राचार्य डा. नारायण बराल सहितले विद्यार्थीलाई सम्मान गरेका थिए ।

पहिलो दिनको कार्यक्रममा नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थीले विभिन्न कार्यक्रम पस्केका थिए ।

जंक फूडबारेको नाटक, योगा तथा अन्य सांस्कृतिक कार्यक्रम पनि उक्त अवसरमा विद्यार्थीले पस्केका थिए । शुक्रबार र शनिबार पनि विद्यार्थीले नाटक, योगा, भजन सहितका क्षमता प्रस्तुत गर्नेछन ।

Copyright © 2024 | All rights reserved.