0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक चरम निराशा र अविश्वासको भुमरीमा फसेको अवस्थामा देश सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बताएका छन्।
कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने होइन, धैर्यपूर्वक देशलाई निकास दिने राजनीतिक शक्तिको भूमिकामा कांग्रेस उभिनुपर्ने बताएका छन्।
समाजमा नागरिकहरूबीच गहिरो रीस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास देखिएको उल्लेख गर्दै थापाले यस्तो संवेदनशील घडीमा जिम्मेवार र चेतनाको राजनीति गर्ने शक्तिको आवश्यकता रहेको बताएका छन्।
आगो जसले पनि लगाउन सक्ने तर निभाउन धैर्यता र क्षमता चाहिने भन्दै उनले त्यो क्षमता कांग्रेसले देखाउनुपर्ने बताएका छन्।
नागरिकमा व्यापक असन्तुष्टि रहेको उल्लेख गर्दै उनले सुधारका माध्यमबाट मात्रै त्यसको जवाफ दिन सकिने बताएका छन्।
राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति बढ्दो अविश्वासका कारण देशले नै आत्मविश्वास गुमाउँदै गएको अवस्था देखिएको उनको भनाइ छ।
मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार भएको दाबी गर्दै थापाले भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो लडाइँ बदलिएर आएको नेपाली कांग्रेसले लड्ने बताएका छन्।
हिजो मुलुकलाई हिंसाबाट बाहिर निकालिएको स्मरण गराउँदै अब भ्रष्टाचारको दलदलबाट पनि कांग्रेसले देशलाई मुक्त गराउने बताएका छन्।
उनले आगामी दिनमा घरदैलोमा पुग्दा कांग्रेसले देश सम्हाल्छ र सुधार गर्छ भन्ने सन्देश लिएर जान पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।
Copyright © 2024 | All rights reserved.