माघ २६, २०८२, आइतबार

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान खोजी जारी: पोखरा महानगर


Advertisement Image
clock icon 11 hours, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त स्थानको निरन्तर खोजी भइरहेको जनाएको छ। महानगरपालिकाका अनुसार हालसम्म दर्जनौँ स्थानको अध्ययन तथा अवलोकन गरिए पनि विभिन्न कारणले स्थान छनोटमा समस्या देखिएको छ ।

महानगरपालिकाले पछिल्लो समय फोहोर व्यवस्थापनको समाधानतर्फ प्रक्रिया परिणामोन्मुख देखिएकाले छिट्टै समस्याको उचित निकास निस्कने दाबी गरेको छ । 

फोहोरमैला विसर्जनमा देखिएको पछिल्लो गतिरोधका कारण फोहोर संकलनमा कठिनाइ भइरहेको उल्लेख गर्दै महानगरपालिकाले शहरका मुख्य स्थलहरूको फोहोर भने वातावरणीय असर नपर्ने गरी व्यवस्थापन गरिएको स्पष्ट पारेको छ ।

घर, उद्योग व्यवसाय तथा अन्य स्थानबाट निस्कने फोहोरलाई मुख्य चोक र सडक पेटीमा जथाभाबी फाल्नु सभ्य नागरिकका लागि शोभनीय नहुने भन्दै महानगरपालिकाले धैर्यपूर्वक फोहोर संकलन गाडीको प्रतीक्षा गर्न नगरवासीलाई आग्रह गरेको छ ।

पोखराको शहरी सुन्दरता, मानव स्वास्थ्य र वातावरणीय सन्तुलन कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको जनाएको छ । 

आधुनिक प्रविधिको प्रयोग गरी वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्न सार्वजनिक–निजी साझेदारी अवधारणामा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाइएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाले पछिल्लो समय केही व्यक्तिहरूले समस्या समाधानमा सहयोग गर्नुको सट्टा विषयलाई अतिरञ्जित गर्दै भ्रामक सन्देश फैलाउने र संस्थालाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाएको छ। सेती नदीमा फोहोर बगाइएको भन्ने जस्ता आधारहीन समाचार सम्प्रेषण गरी भ्रम सिर्जना नगर्न सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि राजनीतिक दल, सञ्चारकर्मी, व्यवसायी, नागरिक समाज र सम्पूर्ण नगरवासीको सुझबुझपूर्ण सहयोग आवश्यक रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.