माघ २७, २०८२, सोमबार

नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित


Advertisement Image
clock icon 10 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपालले आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा बलियो इंग्ल्यान्डसँग रोमाञ्चक प्रतिस्पर्धा गर्दै ४ रनको हार बेहोरेको छ । जित नजिक पुगेर पनि अन्तिम क्षणमा खेल नेपालका पक्षमा आउन सकेन ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि नेपालले लक्ष्य पूरा गर्न सकेन । अन्तिम ओभरसम्म खेल जाँदा नेपाली समर्थकले ऐतिहासिक जितको आशा गरेका थिए ।

लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई सन्तुलित सुरुवात दिलाएका थिए । तर चौथो ओभरमा आसिफ आउट भएपछि छैटौं ओभरमा कुशल भुर्तेल पनि पभेलियन फर्किए । भुर्तेलले १७ बलमा ४ चौका र १ छक्का मद्दतमा २९ रन जोडे । दुवै ओपनर आउट हुँदा नेपाल ४२-२ को स्थितिमा पुगेको थियो ।

त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे । यो साझेदारीले एक समय इंग्ल्यान्डलाई दबाबमा पारेको थियो । तर १५औं ओभरमा दीपेन्द्र साम करनको बलमा आउट भएपछि नेपालको लय केही खस्कियो ।

दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए । यही खेलसँगै उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडी बने । कप्तान रोहित पौडेल ३४ बलमा ३९ रन बनाएर आउट भए । आरिफ शेखले ८ बलमा १० रन जोडे । बलिङतर्फ इंग्ल्यान्डका लियम डसनले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ५३ रन जोडे भने विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाउँदै इनिङ्सलाई बलियो अन्त्य दिए ।

नेपालका डेब्युटान्ट शेर मल्लले ओपनर फिल साल्टलाई पहिलो बलमै आउट गर्दै शानदार सुरुवात दिलाएका थिए । ५७–३ को कठिन स्थितिमा पुगेको इंग्ल्यान्डलाई बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै सम्हाले ।

बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे ।

हारका बाबजुद नेपालले विश्वकपको पहिलो खेलमै साहसी र प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै सबैको मन जितेको छ ।

Copyright © 2024 | All rights reserved.