माघ २८, २०८२, मंगलबार

सर्वोच्च अदालतको अधिकृतबाट संसद यात्रामा तिलक रानाभाट


Advertisement Image
clock icon 12 hours, 8 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं १ का उम्मेद्वार तिलक रानाभाट आर्थिक सुधार र शिक्षित तथा स्वस्थ नागरिक निर्माणको एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रानाभाट तीन पटक महाधिवेशन प्रतिनिधि भइसकेका नेता हुन् ।

२०२४ साल पुस २ गते कास्कीको मादी गाउँपालिका-३ मा जन्मिएका उनले कानूनमा स्नातक (बीएल) गरेका छन् । पृथ्वीनारायण क्याम्पसबाट अध्ययनपछि उनले तीन वर्ष सर्वोच्च अदालतमा अधिकृतका रूपमा सेवा गरेका थिए ।

सरकारी सेवापछि व्यवसाय र राजनीतिमा सक्रिय बनेका रानाभाटको राजनीतिक यात्रा २०४२ सालमा नेपाल विद्यार्थी संघको सदस्यताबाट शुरू भएको हो ।

पञ्चायतकालमै विद्यार्थी संगठन निर्माणमा सक्रिय उनी पार्टीका विभिन्न महाधिवेशनमा क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिको भूमिकामा रहे । उनले केन्द्रीय अर्थ समिति र नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा पनि काम गरिसकेका छन् ।

रानाभाट वैदेशिक रोजगार व्यवसायमा पनि लामो समयदेखि संलग्न छन् । २०६३ सालमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन स्थापना गरी संस्थापक अध्यक्ष बनेका उनी २०६५ सालमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको केन्द्रीय अध्यक्षसमेत भएका थिए । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने अभियानमा आफू निरन्तर लागेको उनको भनाइ छ ।

उद्योग क्षेत्रमा पनि संलग्न रानाभाटका गार्मेन्ट उद्योगमा ६० भन्दा बढीले रोजगारी पाएका छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक उम्मेद्वार थिए ।

२०७४ को निर्वाचनमा भने पार्टी निर्णयअनुसार उम्मेद्वारीबाट पछि हटेर म्याग्दीमा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका थिए ।

हाल रानाभाट कास्की-१ मा घरदैलो अभियानमार्फत मतदातासँग भेटघाट गर्दै आफ्नो पक्षमा जनमत सृजना गर्न सक्रिय छन् ।

Copyright © 2024 | All rights reserved.