0
प्रतिक्रिया
पोखरा । पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थी अमेरिकामा आयोजना हुने नमुना संयुक्त राष्ट्रसंघ (मोडेल युएन) सभामा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा यही फेब्रुअरी ९ देखि १३ तारिखसम्म उक्त सभा आयोजना हुँदैछ।
सभामा सहभागिताका लागि विद्यालयका प्रिन्सिपल डा. नारायण बराल, अंग्रेजी शिक्षक वामनकुमार घिमिरे तथा विद्यार्थी कृपा बराल, एल्भिना बराल, निजोल पौडेल, विवेश बराल, अभिक कर्ण र दिव्या पराजुली सहभागी रहेका छन्। उनीहरू आइतबार पोखराबाट अमेरिकातर्फ प्रस्थान गरेका हुन्।
पाँच दिनसम्म सञ्चालन हुने सभामा विश्वका ५० देशबाट करिब २ हजार माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ। सभामा मदरल्याण्ड माध्यमिक विद्यालयकी छात्रा कृपा बरालले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको प्लस–टु इन्चार्ज नारायण आचार्यले बताए।
विश्वकै प्रतिष्ठित सभामा आफ्ना विद्यार्थीले सहभागिता जनाउन पाउनु विद्यालयका लागि गर्वको विषय भएको आचार्यले बताए। उनका अनुसार यसले विद्यार्थीको आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति क्षमतामा थप निखार ल्याउनेछ।
सभापछि टोलीले फेब्रुअरी १९ तारिखसम्म न्यूयोर्कका विभिन्न ऐतिहासिक तथा महत्वपूर्ण स्थानको भ्रमण गर्नेछ। त्यसैगरी बोस्टन पुगेर हार्भर्ड विश्वविद्यालय, एमआइटी तथा अमेरिकाको राजधानी वासिङटन डिसीको शैक्षिक र अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको छ।
यस भ्रमणले विद्यार्थीलाई सानै उमेरमा तार्किक तथा तथ्यपरक छलफल गर्ने सीप विकास गर्नुका साथै विश्वव्यापी घटनाक्रमबारे गहिरो बुझाइ हासिल गर्ने र विश्वका विभिन्न देशका आफ्नै उमेर समूहका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
Copyright © 2024 | All rights reserved.