0
प्रतिक्रिया
पोखरा । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी डा. बुद्धि मल्लले सम्हाल्ने भएका छन्। संस्थाले उनलाई सीइओको जिम्मेवारी दिएको हो।
डा. मल्लले व्यावसायिक क्षेत्रमा ३२ वर्ष बिताइसकेका छन्। तीमध्ये २६ वर्ष उनले बैंकिङ क्षेत्रमा काम गरेका छन्।
उनीसँग विकास बैंक र फाइनान्स कम्पनीमा काम गरेको लामो अनुभव छ र बैंकिङ क्षेत्रमा एक गतिशील बैंकरका रूपमा चिनिन्छन्।
यसअघि उनले ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकमा उनी दोस्रो वरीयतामा कार्यरत थिए।
पछिल्लो समय उनले एनएमबि बैंकमा विभागीय प्रमुखका रूपमा काम गरेका थिए। ‘क’ वर्गको बैंकमा काम गरेको अनुभवले उनलाई थप परिपक्व बनाएको बताइन्छ।
डा. मल्लले बैंकिङ करिअरकै बीचमा विद्यावारिधी (पिएचडी) पूरा गरेका छन्। उनले क्रेडिट रिस्क म्यानेजमेन्ट विषयमा शोध गरेका हुन्। उनी लेखक पनि हुन्। उनका ‘सफलता सम्भव छ’ र ‘सपना साकार छ’ नामक पुस्तक प्रकाशित छन्।
खाडी मुलुकमा श्रम र सीप आर्जन गरेर स्वदेश फर्किएपछि बैंकिङ क्षेत्रको नेतृत्व तहमा पुग्नु उनको फरक पहिचान मानिन्छ।
उनले पाँच वर्ष कतारमा बिताएका थिए। कतारबाट फर्किएपछि उनले एक वर्ष शिक्षण पेशामा समेत संलग्न रहे।
रिलायन्स फाइनान्समा उनको आगमनलाई बैंकिङ क्षेत्रमा चासोका साथ हेरिएको छ।
Copyright © 2024 | All rights reserved.