फागुन ०१, २०८२, शुक्रबार

इटालीसँगको लज्जास्पद हारसँगै नेपालको सुपर एट सम्भावना कमजोर


Advertisement Image
clock icon 9 hours, 57 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्‍यो।

एन्थोनी मोस्का र जस्टिन मोस्काले शतकीय साझेदारी गर्दै इटलीलाई सहज जित दिलाए। पावर प्लेमै ६८ रन जोडेको इटलीले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो। दुवैले ११औँ ओभरमा अर्धशतक पूरा गरे।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमा अलआउट भयो। इटलीका स्पिनरको प्रभावकारी बलिङ सामु नेपाली ब्याटर टिक्न सकेनन्। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे।

ओपनर कुशल भुर्तेल र लोकेश बम सिंगल डिजिटमै आउट भए। कप्तान रोहित र आसिफले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन्। उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे।

इटलीका स्पिनरहरूले सामूहिक रूपमा ६ विकेट लिए। लेग स्पिनर क्रिसन कालुगमागेले ४ ओभरमा १८ रन खर्चिँदै ३ विकेट लिए भने बेन्जामिन मानेन्टीले ९ रन खर्चेर २ विकेट लिए।

यो समूह चरणमा नेपालको लगातार दोस्रो हार हो। यसअघि नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो।

लगातार दुई हारपछि नेपालको सुपर एट पुग्ने सम्भावना कमजोर बनेको छ। इटलीले भने टी–२० विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको छ।

Copyright © 2024 | All rights reserved.