फागुन ०९, २०८२, शनिबार

उम्मेद्‍वार साक्षात्कार कार्यक्रम सम्पन्न


Advertisement Image
clock icon 1 day, 20 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । भरतपोखरी विकास मञ्च, पोखरा-३३ ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूसँगको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा-३३, भरतपोखरी, भगवती चौतारास्थित अन्नपूर्ण स्वास्थ्य चौकीको चौरमा बुधबार भएको ‘जनतासँग उम्मेद्‍वार-उम्मेद्‍वारसँग जनता’ विषयक साक्षात्कार कार्यक्रममा कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्‍वारी दिएका उम्मेद्‍वारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

‘मातृभूमिप्रतिको उच्च सम्मान, समृद्धिको सङ्कल्पका लागि असल नेतृत्व छनोटमा साझा अभियान’ भन्ने मूल मन्त्रसहित आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेद्‍वारहरूले स्थानीय जनतासामु आफ्ना उम्मेदवारीको औचित्य, प्रतिबद्धता, एजेन्डा र घोषणात्रसमेत प्रस्तुत गरेका थिए ।

प्रत्येक उम्मेद्‍वारहरूलाई आफ्नो प्रस्तुतिका लागि १० मिनेटको समय उपलब्ध गराइएको र उपस्थित मतदाताहरूले आफ्ना राय, सल्लाह, सुझाव, माग एवम् जिज्ञासाहरू राखेपछि उम्मेद्‍वारहरूले जनताले सोधेका प्रश्नको जबाफ दिएको विकास मञ्चका महासचिव गणेशप्रसाद ढकालले जानकारी दिए।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुली किरण, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक भण्डारी, उज्यालो नेपाल पार्टीका उम्मेद्‍वार कुशल गुरुङ, नेपाल जनमुक्ति पार्टीका उम्मेद्‍वार ख्यामबहादुर गुरुङ, स्वतन्त्र उम्मेदवार बिष्णु प्रसाद तिवारीलगायतका उम्मेद्‍वाहरू सहभागी भइ आआफ्ना घोषणा पत्र प्रस्तुत गरेको विकास मञ्चका अध्यक्ष बरालले जानकारी दिए । उक्त कार्यक्रममा आमा समूह, टोल विकास संस्था, समाजसेवी, बुद्धिजीवी, नवपुस्ताका युवा, युवा क्लब, राजनीतिक दल, सामाजिक अभियन्ता, पत्रकार तथा शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

Copyright © 2024 | All rights reserved.