फागुन ०९, २०८२, शनिबार

मतदाता खोज्न धादिङका कांग्रेस उम्मेद्वार पोखरामा


Advertisement Image
clock icon 5 hours, 23 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन्। यसै सन्दर्भमा नेपाली कांग्रेस धादिङका उम्मेद्वार मतदाता भेटघाट तथा चुनावी प्रचारका लागि पोखरा आउने भएका छन्।

नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिको पहलमा पोखरामा बसोबास गर्ने धादिङवासी मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रम आयोजना गरिएको हो। 

कार्यक्रम शनिबार दिउँसो १२ बजे सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुने समिति सचिव श्यामबहादुर इटनीले जानकारी दिए।

धादिङ क्षेत्र नं १ का उम्मेद्वार कृष्णप्रसाद रिजाल र क्षेत्र नं २ का उम्मेद्वार रमेश धमला शनिबार पोखरा आउने भएका हुन्।

यस्तै समानुपातिकतर्फका उम्मेद्वार सीता थपलिया (उर्मीला), सेतेमान तामाङ र शान्ताकुमारी तामाङसमेत सो कार्यक्रममा सहभागी हुने समिति सभापति कमलबहादुर पाण्डेले जानकारी दिए।

पोखरामा धादिङबाट विभिन्न तवरले आएका नागरिकको संख्या उल्लेख्य छ। यद्यपि कति मतदाता छन् भन्ने यकिन तथ्यांक नभए पनि करिब २५ हजार धादिङवासी पोखरामा रहेको दाबी गरिँदै आएको छ।

रोजगारी, अध्ययन र व्यवसायका कारण पोखरा पुगेका धादिङवासीहरू विभिन्न क्षेत्रमा क्रियाशील छन्। सामान्य मजदुरी गर्ने श्रमिकदेखि निजी क्षेत्र, पर्यटन व्यवसाय, सेवा क्षेत्र र विभिन्न संस्थामा उच्च पदमा कार्यरत व्यक्तिसम्म धादिङवासी देखिन्छन्।

उम्मेद्वारले पोखरामा रहेका धादिङवासीसँग आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्ने, जिल्लाको विकासका लागि अघि सारेका योजना साझा गर्ने तथा मतदाताको गुनासो र सुझाव सुन्ने कार्यक्रम तय गरिएको बताइएको छ।

यस भेटघाटले प्रवासमा रहेका मतदातालाई पनि चुनावी प्रक्रियामा जोड्ने र पार्टीप्रतिको विश्वास थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

पोखरामा रहेका मतदाता जिल्ला लैजानका लागि समितिले अग्रसरता लिएको छ। यसका लागि समितिले पालिका स्तरीय समिति नै बनाएर चुनावी अभियान सञ्चालन गरिरहेको छ।

Copyright © 2024 | All rights reserved.