0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेद्वार रमेश धमलाले वर्तमान राजनीतिक परिस्थिति अस्थिर बन्दै गएको बताउँदै यस अवस्थाबाट मुलुकलाई निकाल्न कांग्रेस जिम्मेवार भूमिकामा अघि बढेको बताएका छन् ।
नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिले आयोजना गरेको उम्मेद्वार परिचयात्मक तथा अन्तरक्रियामा उनले सरकार गठन–विघटन र दलहरूबीचको बदलिँदो समीकरणले जनतामा निराशा बढाएको उल्लेख गरे ।
उनले नेपाली कांग्रेस अहिले संगठन सुदृढीकरण, कार्यकर्ताको मनोबल उच्च बनाउने र जनताको भरोसा फिर्ता ल्याउने अभियानमा सक्रिय रहेको बताए ।
धमलाले भने, “कांग्रेस सत्ताका लागि मात्रै होइन, लोकतान्त्रिक प्रणालीको रक्षा र संस्थागत विकासका लागि निरन्तर लड्दै आएको पार्टी हो।”
पार्टीभित्र देखिने बहस र मतभेदलाई स्वाभाविक प्रक्रियाका रूपमा लिँदै उनले एकताबद्ध भएर चुनावमा होमिनुपर्नेमा जोड दिए ।
धमलाले कांग्रेसले स्पष्ट नीति, जनमुखी कार्यक्रम र विकासमुखी एजेन्डासहित जनतामाझ गएको जानकारी दिए ।
धादिङ क्षेत्र नं २ मा आफूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । “जनताले देख्ने र अनुभूति गर्ने खालका काम कांग्रेसले अघि सार्नेछ,” उनले भने ।
युवापुस्तामा बढ्दो राजनीतिक निराशा हटाउन कांग्रेसले उद्यमशीलता प्रवर्द्धन, सीप विकास र रोजगारी सिर्जनामा जोड दिने योजना बनाइरहेको पनि उनले बताए ।
धमलाले वर्तमान राजनीतिक परिस्थितिमा सबै राजनीतिक दलहरूले जिम्मेवार र संयमित व्यवहार देखाउनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्य, संविधानको सम्मान र जनमतको कदर नै स्थायित्वको आधार भएको बताए ।
समानुपातिकतर्फका उम्मेद्वार सेतेमान तामाङले फागुन २१ गतेपछि देशको नेतृत्व पार्टी सभापति गगन थापाले गर्ने निश्चित भएको दाबी गरे।
कांग्रेस बद्लिएको भन्दै उनले देश पनि बदलेरै छाड्ने कांग्रेसको अठोट रहेकाले सबैले साथ दिन आवश्यक रहेको उनले बताए । देशको तामाम समस्या समाधान कांग्रेसले मात्रै गर्न सक्ने उनको जिकिर थियो ।
अब अन्योलमा रहने छुट कसैलाई पनि नभएको भन्दै तामाङले सबै एकढिक्का भएर कांग्रेसमा मतदान गर्नुपर्नेमा जोड दिए । उनले यो पटक कांग्रेसलाई हार्ने छुट नभएको बताए ।
कार्यक्रममा ज्वालामुखी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कृष्ण गुरुङ, कांग्रेस वडा सभापति श्रीराम शाह, कांग्रेस नेता राजेन्द्र अधिकारी, दीपक कोइराला, पूर्व क्षेत्रीय सभापति योगबहादुर तामाङ, नेपाल शिक्षक संघका नेता ललित गुरुङ, नेविसंघकी रञ्जिता अधिकारी, समितिका संस्थापक सभापति केदार धमला, निवर्तमान सभापति लालप्रसाद पाठक, वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, सल्लाहकार यादुप्रसाद ढकाल, नवप्रवेशी रामहरि श्रेष्ठलगायतले बोलेका थिए।
समिति सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति माधव लम्सालले स्वागत र सचिव श्यामबहादुर इटनीले सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.