फागुन १०, २०८२, आइतबार

भूमिहीन र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने नीति ल्याउने मनोज गुरुङको वाचा


Advertisement Image
clock icon 8 hours, 47 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। प्रतिनिधिसभा निर्वाचन कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या न्यायोचित र दिगो रूपमा समाधान गर्न नयाँ नीति ल्याउने बताएका छन्।

पोखरा-५ मा शनिबार आयोजित कोणसभामा गुरुङले आफ्नो चुनावी कार्यक्रम र योजना प्रस्तुत गर्दै अव्यवस्थित बसोबासलाई ध्यानमा राख्दै ठोस योजना ल्याउने बताएका हुन्।

उनले अव्यवस्थित बसोबासले शहरको सौन्दर्य र व्यवस्थापनमा समस्या सिर्जना गरेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्ने योजना अघि सार्नुपर्नेमा जोड दिए। 

गुरुङले जनताको समस्या बुझेर मात्रै प्रभावकारी नीति निर्माण गर्न सकिने भन्दै शहरमा सडक, ढल, पानी आपूर्ति, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने योजना रहेको बताए।

गुरुङले यी योजनाहरूले नगरपालिकामा रहेका कमजोर पक्षलाई बलियो बनाउने र नागरिकको जीवनस्तर उकास्ने लक्ष्य राखेको बताए।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले बद्लिएको कांग्रेसले देश पनि बदल्ने दाबी गरे।

उनले नेपाली कांग्रेस अहिले संगठन सुदृढीकरण, कार्यकर्ताको मनोबल उच्च बनाउने र जनताको भरोसा फिर्ता ल्याउने अभियानमा सक्रिय रहेको बताए । 

सभापति बरालले भने, “कांग्रेस सत्ताका लागि मात्रै होइन, लोकतान्त्रिक प्रणालीको रक्षा र संस्थागत विकासका लागि निरन्तर लड्दै आएको पार्टी हो।”

पार्टीभित्र देखिने बहस र मतभेदलाई स्वाभाविक प्रक्रियाका रूपमा लिँदै उनले एकताबद्ध भएर चुनावमा होमिएको बताए ।

पार्टीका वडा कार्यमिति सभापति प्रकाश कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य विजयलक्ष्मी कोइराला, नेता पुरुषोत्तम प्रसाद पराजुली र प्रयास कोइरालाले बोलेका थिए।

उम्मेद्वार गुरुङसहितको टोलीले शनिबार पोखरा-१९ का विभिन्न क्षेत्रमा घरदैलो गरेको छ।

Copyright © 2024 | All rights reserved.