चैत ०६, २०८२, शुक्रबार

मानसिक स्वास्थ्य सुदृढीकरणमै समावेशी विकासको आधार : मन्त्री थापा


Advertisement Image
clock icon 3 hours, 2 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन्।

वडा स्तरीय दलित सञ्जाल, पोखरा-९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सचेतनामूलक कार्यक्रम” मा उनले यस्तो बताएका हुन्।

विशेषगरी दलित समुदायसहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तीकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै उनले यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे।

मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै मानसिक र नैतिक विकासमा समेत सक्रिय रहेको उल्लेख गर्दै पिछडिएका वर्गको आवाज बुलन्द पार्न लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको बताए ।

उनले प्रदेशमा दलित विधेयक पारित गरी दलित समुदायको हकअधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको पनि जानकारी दिए। दलित अधिकार संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ थियो।

पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले समाजबाट विभेद अन्त्य हुनुपर्नेमा जोड दिँदै केवल भाषण होइन, व्यवहारिक काममार्फत परिवर्तन आवश्यक रहेको बताए।

मानसिक स्वास्थ्यसम्बन्धी यस्ता कार्यक्रमहरूले समाजलाई सबल र सुदृढ बनाउने उनको धारणा थियो ।

त्यसैगरी प्रशिक्षक समझना पराजुलीले मानसिक स्वास्थ्य आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै सामान्य तनाव व्यवस्थापन गर्न सकिएमा धेरै समस्या समाधान हुन सक्ने बताइन्।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत एकीकृत सेवा कार्यालय कास्कीको सहयोगमा वडा स्तरीय दलित सञ्जाल, पोखरा-९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि सचेतनामूलक कार्यक्रम” को अध्यक्षता सपना विकले गरेकी थिइन्।

उनले समाजमा बढ्दो मानसिक समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

सामान्य तनावका कारण हुन सक्ने दुर्घटनालाई रोक्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

Copyright © 2024 | All rights reserved.