चैत २१, २०८२, शनिबार

१४औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र


Advertisement Image
clock icon 2 hours, 48 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।

विष्णुपादुका क्लब हेमजाले शनिवार महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ।

छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको निष्कर्ष निकालेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भेलाका बिच आलु महोत्सव पोखराको मात्र नभई समग्र देशकै ब्रान्ड बनेको उल्लेख गरे।

उनले  महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारे । हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत् प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको थप उल्लेख गरे ।

भेलामा पूर्व अध्यक्ष रमेश कार्की, निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवमा भएका कमी कमजोरीलाई मूल्याङ्कन गर्दै आगामी दिनमा त्यसको सुधार गर्नुपर्ने र नयाँपन झल्कने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए।

‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रूपमा आलु तथा ताजा तरकारीहरूको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी समेत रहने छ ।

मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव विकल थापाले सञ्चालन गरे ।

Copyright © 2024 | All rights reserved.