0
प्रतिक्रिया
पोखरा। धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजको नवौँ साधारणसभा, शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रम शुभारम्भ गर्दै प्रमुख अतिथि धादिङ-पोखरा सम्पर्क समाजका उपाध्यक्ष दिनेश तुलाधरले समाजले स्थापना कालदेखि नै सामाजिक एकता, आपसी सहयोग र क्षेत्रीय पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले जिल्लावासीप्रति समाजले देखाइएको लगाव र सहयोगले समाजलाई अझ सशक्त बनाएको उल्लेख गरे।
श्रेष्ठले आगामी दिनमा अझ प्रभावकारी काम गर्दै युवा पुस्तालाई समाजका गतिविधिमा सक्रिय रूपमा जोड्नुपर्नेमा जोड दिए । नयाँ सोच र ऊर्जाले संस्थालाई थप उचाइमा पुर्याउने उनले विश्वास व्यक्त गरे।
उनले सामाजिक संस्थाहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर अगाडि बढ्न आग्रह गरे।
गण्डकी मिजार समाजका अध्यक्ष तेजबहादुर नेपालीले सामाजिक एकता र आपसी सहयोगमा लेखनाथ कल्याणकारी समाजले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले समाजमार्फत स्वास्थ्य र सामाजिक क्षेत्रमा भएका गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
समाजका निवर्तमान अध्यक्ष बुद्धराज बस्यालले सामूहिक प्रयास र एकताका कारण संस्थाले विभिन्न सामाजिक तथा कल्याणकारी कामहरू सफलतापूर्वक सम्पन्न गर्न सकेको उल्लेख गरे।
उनले आफ्नो कार्यकालभर सिकेका अनुभव र उपलब्धिहरूले संस्थालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाको हितका लागि आफू सक्रिय रहने धारणा राखे।
सल्लाहकार तिलक रोकाले संस्थालाई अझ सुदृढ बनाउन दीर्घकालीन योजना र अनुशासन आवश्यक रहेको औंल्याउँदै अनुभव र युवाशक्तिको समन्वयबाट संस्थालाई थप उचाइमा पुर्याउन सकिने बताए ।
सहकार्य र समन्वयका साथ समाजको उद्देश्यअनुसार प्रभावकारी कार्यक्रम सञ्चालन गर्न उनले सुझाव दिए। साथै आगामी दिनमा पनि आफूले आवश्यक परामर्श र सहयोग निरन्तर प्रदान गर्ने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा महासचिव दुर्गा दुवाडीले प्रस्तुत गरेको कार्यप्रगति र कोषाध्यक्ष किरण नेपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो ।
समाजका अध्यक्ष प्रेम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिष्टर रोकाले स्वागत र महासचिव दुर्गा दुवाडीले सञ्चालन गरेका थिए ।
समाजले विभिन्न गतिविधि समेटेर प्रत्येक वर्ष भित्तेपात्रो प्रकाशन गर्दै आएको र यस वर्ष पनि निरन्तरता दिएको संयोजक मिस्टर रोकाले जानकारी दिए । भित्तेपात्रो प्रकाशन समितिमा गोपाल रोका सदस्य रहेका छन्।
Copyright © 2024 | All rights reserved.