0
प्रतिक्रिया
पोखरा। पोखरामा बुधबार साँझ एक अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ। आक्रमणकारी भने फरार भएका छन् ।
मृत्यु हुनेमा पोखरा-५ मालेपाटनकी सिर्जना पौडेल केसी छन्।
करिब ७ बजे सभागृहचोकबाट सृजनाचोकतर्फ आउँदै गर्दा शिवालय चोकतर्फ जाने गल्लीको कर्नरमा केसीमाथि आक्रमण भएको थियो ।
गम्भीर घाइते केसीलाई तत्कालै गण्डकी मेडिकल कलेज पुर्याइएको थियो।
तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट केसीको टाउकोमा गम्भीर चोट लागेको थियो ।
स्रोतका अनुसार केसीले पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी थिइन्।
सडकपेटीमा उभिरहेकी केसीमाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रमाण संकलनका साथै हत्यामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।
यस घटनाले पोखराको सुरक्षा अवस्थामाथि पुनः प्रश्न उठाएको छ। प्रहरीले घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन अनुसन्धान अगाडि बढाएको जनाएको छ।
यसैबीच केसीको हत्याकाे घटनाप्रति गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापा र संघीय सांसद उत्तमप्रसाद पौडेलले दु:ख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री थापा र सांसद पौडेलले दु:ख व्यक्त गर्दै दोषी पत्ता लगाएर कडाभन्दा कडा कानूनी कार्वाही गर्न माग गरेका छन्।
मन्त्री थापाको स्टाटस
पोखराको सभागृह चोकमा हिजो साँझ भएको दुःखद् तथा निन्दनीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु। उक्त घटनामा सिर्जना पौडेल केसीको निधन भएको खबरले स्तव्ध बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
यस घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै प्रत्येक नागरिकलाई सुरक्षाको अनुभूति गराउने राज्यको दायित्वलाई पूर्ण रूपमा निर्वाह गर्न सुरक्षा निकायलाई थप प्रभावकारी र जिम्मेवार बनाउन आवश्यक छ।
पछिल्ला समयहरूमा यस्ता आपराधिक घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय हो। यस्ता घटनाको रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित सबै निकायहरू गम्भीरतापूर्वक लाग्न आग्रह गर्दछु।
मन्त्री पौडेलको स्टाटस
आज पोखराको मुटु मानिने सभागृह चोकमा दिउँसै धारिलो हतियार प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या भएको खबरले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ। मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
यस घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गरियोस् । नागरिकको जिउधनको सुरक्षाको ग्यारेन्टी गर्न सुरक्षा रणनीतिमा तत्काल सुधार गरियोस र अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नहोस भन्दै कास्की प्रहरीलाई सजक गराउँदछु ।
हामी शान्त र सुरक्षित कास्की चाहन्छौँ !
उत्तम प्रसाद पौडेल
प्रतिनिधि सभा सदस्य
कास्की क्षेत्र नं. २
Copyright © 2024 | All rights reserved.