0
प्रतिक्रिया
पर्वत । पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिना अगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ ।
मोदी-६ स्थित लिदी खोलामा दुई करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो ।
पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका छन् ।
उद्घाटनपछि बोल्दै मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गरे ।
जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएको भन्दै मन्त्री केसीले खुसी व्यक्त गरे । प्रदेश सरकारले केही गरेन भन्नेहरुका लागि गाउँगाउँमा भइरहेका विकास निर्माणका काम नै जवाफ भएको मन्त्री केसीले बताए ।
पुल निर्माणका लागि कस्तुरी कन्स्ट्रक्सनले २०८१ चैत २१ गते सक्ने गरी २०८० असोज ६ गते पूर्वाधार विकास कार्यालय, पर्वतसँग सम्झौता गरेको थियो ।
डिमुवा, राम्जा, चित्रे सडकखण्डमा पर्ने पुलको लम्बाइ १५ मिटर छ । यसको भारवहन क्षमता ७० टन रहेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
यो पुल निर्माण भएपछि मोदी गाउँपालिका-७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्क र आसपासका गाउँका बासिन्दालाई सहज भएको छ ।
पुल बन्नुअघि हिउँदमा जसोतसो खोलाबाट नै सवारीसाधन गुड्ने गर्दै आएका थिए । बर्खायाममा निकै सकस र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।
Copyright © 2024 | All rights reserved.