पुस ०२, २०८१, मंगलबार

आदर्श कपमा सेमिफाइनल समीकरण पूरा


Advertisement Image
clock icon 6 days, 17 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको लेखनाथमा जारी २५औँ आदर्श कप फुटबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।

मंगलबार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २-१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटबल संघले सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

खेलको ५५औँ मिनेटमा पहिलो गोल गर्दै गोर्खाका रिचार्ड अपेकाले टोलीलाई अग्रता दिलाएका थिए ।

यस्तै ७१औँ मिनेटमा नेपाल प्रहरीको तर्फबाट विवेक गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । तर खेलको ८४औँ मिनेटमा प्रहरीका खेलाडीले फल गरेपछि गोर्खाले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरलाई गोरखाका देव गुरुङले सदुपयोग गरे, गोल गरे ।

खेलको म्यान अफ दी म्याच गोर्रखाका आकाश थापा भए । उनले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

बुधबार सेमिफाइनल अन्तर्गत पहिलो खेल आयोजक आदर्श युवा क्लब र कास्की–११ बीच हुनेछ । यस्तै दोस्रो खेल बिहीबार सशस्त्र प्रहरी बल गण्डकी प्रदेश र एन्फा गोर्रखाका बीच हुने क्लब सचिव सन्तोष गुरुङले जानकारी दिए ।
प्रतियोगिता विजेताले चार लाख २५ हजार पाँच सय २५ रुपैयाँ, उपविजेताले दुई लाख २५ हजार पाँच सय २५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, डिफेण्डर, गोलरक्षक र प्रशिक्षकले जनही १५ हजार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताबाट फुटबल प्रतिभा मात्र नभएर खेलकुदमा सहकार्य, अनुशासन र नेतृत्व कौशलको विकास गर्ने तथा स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय स्तरमा चिनाउन मद्धत पुग्ने बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

Copyright © 2024 | All rights reserved.