पुस ०२, २०८१, मंगलबार

कास्की फुटबल संघ आदर्श कपको फाइनलमा


Advertisement Image
clock icon 5 days, 16 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की फुटबल संघ पोखराको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कास्की फुटबल संघ बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लबलाई ४-३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थपियो । अतिरिक्त समयमा समेत दुबै पक्षबाट गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

पेनाल्टी सुट आउटमा कास्की फुटबल संघले आयोजक आदर्शलाई ४-३ ले पराजित गरेको हो ।

कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशीष गुरुङ र युनिक तामाङले गोल गरे । कास्कीका खेलाडी सरोज तितुङको बल गोलमा परिणत हुन सकेन ।

यता, आयोजक क्लबको तर्फबाट सुमित श्रेष्ठ, भीषण गुरुङ र राहुल गुरुङले गोल गरे ।

कास्कीविरुद्ध दीपक कार्की र दीपेश आलेमगरले हानेको बल रोकिएकोे थियो । आयोजक आदर्श युवा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । बुधबारको खेलमा म्यान अफ द म्याच कास्कीका आयुशमान गुरुङ बने ।

बिहीबार दोस्रो सेमिफाइनल खेलमा गोर्खा फुटवल क्लब र सशस्त्र प्रहरी बल गण्डकीले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता विजेताले चार लाख २५ हजार पाँच सय २५ रुपैयाँ, उपविजेताले दुई लाख २५ हजार पाँच सय २५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, डिफेण्डर, गोलरक्षक र प्रशिक्षकले जनही १५ हजार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताबाट फुटबल प्रतिभा मात्र नभएर खेलकुदमा सहकार्य, अनुशासन र नेतृत्व कौशलको विकास गर्ने तथा स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय स्तरमा चिनाउन मद्धत पुग्ने बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

Copyright © 2024 | All rights reserved.