पुस ०२, २०८१, मंगलबार

गण्डकी बहुप्राविधिक शिक्षालयमा नवआगन्तुक विद्यार्थीको स्वागत


Advertisement Image
clock icon 1 day, 20 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राधिक शिक्षालयमा नयाँ भर्ना भई आएका विद्यार्थीलाई आइतबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख एवं शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष धनराज आचार्यको विशेष उपस्थितिमा नवआगन्तुक विद्यार्थीलाई शिक्षालयमा स्वागत गरिएको हो ।

प्राविधिक शिक्षाको आवश्यकतालाई मध्यनजर गरी महानगरद्वारा सञ्चालन गरिएको शिक्षालयमा डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालनमा छन् ।

यस्तै प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रि-डिप्लोमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम, बाल विकास सहजकर्ता, पूर्व सिकाइको मान्यताको सीप परीक्षण, टायल तथा मार्बल फिक्सरका सीप परीक्षण, बिल्डिङ् कन्स्ट्रक्सन, बिल्डिङ् पेन्टर सीप परीक्षण र विद्यालय तहमा आधारभूत प्राविधिक शिक्षा एव सीप हस्तान्तरणको लागि छोटो अवधिका पाठ्यक्रम समेत लागू गरिएको छ ।

शिक्षालयमा हाल चार सय दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । शिक्षालयको शैक्षिक प्रगति देशभर सञ्चालित प्राविधिक शिक्षालय मध्ये उत्कृष्ट रहेको छ ।

डिप्लोमा इन अटोमोवाईलका उजेन उदासले ९३दशमलव७५ प्रतिशत अङ्कसहित देशभरबाट उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

छोटो अवधिको तालिमपश्चात् ५० प्रतिशत भन्दा बढी विद्यार्थी व्यावसायिक क्षेत्रमा आबद्ध भएका छन् ।

राष्ट्रिय सीप परीक्षण केन्द्रको परीक्षामा कुल सहभागिताको ९० प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन् ।

नगर प्रमुख आचार्यले समुदाय स्तरमा ज्ञान तथा सीप विकास, रोजगारी सृजना, आर्थिक सशक्तीकरण, उद्यमशीलता, नवप्रवर्तनसहित प्रतिस्पर्धात्मकता जनशक्ति उत्पादनमा सकारात्मक प्रभाव बढाउन विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिइएको बताए ।

उनका अनुसार आगामी वर्षदेखि डिप्लोमा इन नर्सिङ विषयको कक्षा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदलसमेत गठन गरिएको छ ।

शिक्षालयबाट डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङका ८८ जना विद्यार्थी पास आउट भइसकेका छन् ।

शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सीनाका अनुसार उनीहरूलाई पनि शिक्षालयले बिदाइ गरेको छ । सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको छ ।

Copyright © 2024 | All rights reserved.