0
प्रतिक्रिया
पोखरा । पोखरामा जारी १३औँ पोखरा महोत्सवमा बुधबारदेखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार सेन्टमेरिज स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सेन्टमेरिजले बालकल्याण, कालिका मावि र अमरसिंह मावि (बि) लाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसैगरी माघ ३ गते कास्की मोडनाइज्ड स्कुल, हार्वड इङ्लिस बोर्डिङ स्कुल र ज्ञानगंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा हुने छ ।
माघ ४ गते बेसलाइन इङ्लिस बोर्डिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा हुने छ ।
यस्तै माघ ५ गते सरस्वती इङ्लिस बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी स्कुल, विभूति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुल बीच प्रीतस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले ४५ हजार, दोस्रो हुनेले नगद ३० हजार, तृतीय हुनेले नगद २० हजार र सान्त्वना स्थान हाँसिल गर्ने दुई टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवअन्तर्गत बुधबार दर्शकको उल्लेख्य सहभागिता जनाए । दर्शकको आगमनसँगै महोत्सवमा राखिएका स्टलमा समेत ब्यापार बढेको अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए ।
बुधबार लोक तथा दोहोरी गायिका अस्मिता अधिकारीको गीत र राजेन्द्र गिरी (गुन्दु्रके) को हाँस्यब्यङ्ग्य प्रस्तुतिमा दर्शक रमाए ।
यस्तै अधिकारीसँगै चोलेन्द्र पौडेल, तारापती सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, वसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारीको दोहोरी प्रस्तुतीमा दर्शकले भरपुर मनोरञ्जन लिए । साथै साँझको लाइभ ब्याण्डतर्फ सुगम पोखरेलको प्रस्तुतिमा युवा झुमेका थिए ।
Copyright © 2024 | All rights reserved.