0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक एकता मजबुत बनाएर कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । यसका लागि कांग्रेस नेता तथा कार्यकर्ता एकताबद्ध र सङ्गठित हुन आवश्यक रहेको उनले बताए ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि पार्टीभत्रि एकता भएमा कांग्रेसले बहुमत ल्याउने स्पष्ट पारे ।
उनले भने, ‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ ।”
“तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ, अझ पार्टीका सबै साथीबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ”, उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको स्पष्ट पारे ।
बीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसादलगायतका नेताले सुम्पिनुभएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए ।
सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए ।
प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे ।
पोखराको प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नुका साथै विद्यमान समस्याको समाधानका लागि उचित मार्गनिर्देश गर्ने उनको विश्वास छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्र्वाचन क्षेत्रमार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिए ।
पार्टीको प्रशिक्षण पुस्तिका निर्माण गर्ने सन्दर्भमा तयार गरिएको ‘ड्राफ्ट’ छलफलका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको जानकारी दिँदै प्रशिक्षण प्रतिष्ठानका प्रमुख खड्काले माघ मसान्तभित्रमा सुझावहरू सङ्कलन गरी पुस्तिकालाई अन्तिम रुप दिने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्यमान्यता र विरासतलाई बिर्सन नहुने धारणा व्यक्त गर्दै सबैलाई समेटेर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी छन् ।
Copyright © 2024 | All rights reserved.